हेटौंडा , २८ कार्तिक,बिद्युत प्राधिकरण मकवानपुरले आफ्नो ग्राहकसँग उठाउनु पर्ने बक्यौता रकम एक अर्बभन्दा धेरै पुगेको छ । चालु आर्थिक वर्षको गत कार्तिक १७ गतेसम्म प्राधिकरणले आफ्नो ग्राहकसँग एक अर्ब ३२ करोड ६५ लाख ९७ हजार ६५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको पाईएको हो । बिद्युत प्राधिकरण र उपभोक्ता दुवैको लापरवाहीका कारण वर्षेनी ठूलो मात्रामा रकम बक्यौता हुने बिद्युत प्राधिकरणको पुरानै समस्या हो । महशुल नबु्झाउनेहरुमा सरकारी कार्यालयदेखि विभिन्न ठुला उद्योगहरुसम्म रहेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

सबैभन्दा बढी बक्यौता रकम शिवम् सिमेन्ट लिमिटेडको छ । लामो समयदेखी महशुल नबुझाएको यस उद्योगले मात्रै एक अर्ब २९ करोड ३६ लाख ४९ हजार दुईसय ५८ रुपैयाँ महशुल तिर्न बाँकी रहेको छ । त्यस्तै मनकामना क्रसर उद्योगले २३ लाख ९३ हजार नौसय ५६ , जयगणेश क्रसर उद्यागले १८ लाख दश हजार आठसय एक रुपैयाँ र शुविशु भुमी ईले १४ लाख ९९ हजार दश रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणका लेखापाल उमानाथ रेग्मीले जानकारी दिए । रेग्मीले शुभ उत्तम ईट्टा उद्योगले ११ लाख १४ हजार ६ सय ४४ र शम्भु रोडा उद्योगले नौ लाख ४३ हजार नौसय ७५ रुपैयाँ तिर्न बाकी रहेको बताए ।

लामो समय सम्म विद्युतको महसुल नबुझाउँनेहरुलाई कालो सुचिमा राखेर बक्यौता उठाउँने कामलाई तिब्रता दिएको कार्यलयले जनाएको छ । बजारमा देखिएको बक्यौता उठाउँन आफुहरु लागी परेको बताउँदै रेग्मीले भने ‘ महसुल नतिर्नेहरुको लाईन काट्छौ । ’ प्राधिकरणले ताकेता गर्दा समेत विद्युत महसुल नबुझाएको भन्दै बक्यौता उठाउँन बाँकी रहेको विद्युत काटिएको उनले बताए । चालु आर्थिक बर्षको कार्तिक १७ गतेसम्म ७३ जना ग्राहकको लाईन काटेर ५५ लाख लाख १८ हजार तीन सय १९ रुपैया असुली गरेको रेग्मीले जनाएका छन । ‘ समयमा महशुल नतिरे प्राद्यिकरणले लाईन काट्छ , लाईन काटेको ६ महिनासम्म प्राद्यिकरणमा सम्पर्कमा नआए उनीहरुलाई कालोपार्टी (ब्ल्याक लिष्ट) मा राखिन्छ रेग्मीले भने । ’ प्राधिकरणले चालु आर्थिक वर्षमा २ जना ग्राहकलाई कालोपाटीमा राखी एक लाख १९ हजार एकसय ९४ रकम असुलि गरेको छ । रेग्मीले विद्युत चुहावट गर्ने ८ जनालाई कार्वाही गरि ३६ हजार चारसय ९९ रुपैयाँ असुलि गरेको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।