file photo

हेटौंडा,२८ कात्तिक- प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले लामो समयबाट रोकिएको प्रदेशको स्थायी राजधानी र नामाकरण अबको दुई साताभित्र टुंगो लाग्ने दाबी गरेका छन् ।

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालले संयुक्त रुपमा आज हेटौंडामा आयोजना गरेको करमैत्री यात्रा हाँस्यव्यंग्य मनोरञ्जन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानीबारे जनता धेरै समउसम्म अन्योलमा रहेको भन्दै अबको १५ दिनभित्र उक्त विषय टुंगो लाग्ने बताए ।  प्रदेशको राजधानी तथा नामाकरण नहुँदा जनताहरु समेत अन्योलमा परेको भन्दै उनले यसबारे अन्तिम तयारी भैसकेको समेत बताए ।

कर तिर्नु प्रत्येक नागरिकको दायित्व रहेको भन्दै मुख्यमन्त्री पौडेलले करलाई छल्ने भन्दा पनि तिर्ने वानी बसाउनको लागि सबै ब्यवसायी तथा आम नागरिकसँग अनुरोध समेत गरे ।

ऋण र अनुदानबाट भन्दा पनि जनताले मेहनत गरेर बुझाएको करबाट देश सञ्चालन हुनुपर्ने उनको धारणा थियो । आफूले तिरेको कर सदुपयोग भएको छ कि छैन त्यो जान्न पाउनु जनताको अधिकार हो भन्दै मुख्यमन्त्री पौडेलले जनता त्यस विषयमा सतर्क रहनुपर्ने बताए ।

आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा कलाकार मनोज गजुरेल, धिरेन्द्र प्रेमर्षी लगायतले सम्बन्धित विषयमा मनोजञ्जनात्मक प्रस्तुती दिएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।