file photo

काठमाडौँ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालमा गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन अनुसार समितिले वर्षमा १ महिना अघि सार्न माग गरेको छ ।

समय ऋतुमा आएको परिवर्तनका कारण ऋतुको चक्र अनुसार महिना मिलाउनुपर्ने समितिको तर्क छ । २०६५ सालमा बुझाएको प्रतिवेदनमा चैत १ गतेलाई नयाँ वर्ष बनाई एक महिनाअघि सार्न प्रस्ताव गरिएको थियो । २०६५ साल पुस १६ गते पात्रो सुधारका लागि १ महिना घटाउने मन्त्रिपरिषद बैठकले निर्णय पनि गरेको थियो । समितिका अध्यक्ष हरिनारायण मल्लले विक्रम संवतको पात्रो १ महिना बिग्रिएकोले त्यसलाई १ महिना अगाडि सार्नुपर्ने बताए । वैशाखमा नयाँ वर्ष पर्ने भएकोले चैत १ गतेलाई नै नयाँ वर्षका रुपमा सार्नुपर्ने भन्दै यसअघि सरकारलाई सुझाव दिएको उनको भनाइ छ ।

पर्व समय सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको समितिमा रहेर काम गरिरहेको उनले बताए । अगामी २०७७ सालमा मलमास असोजमा परेको हुनाले तिथि फरक नपर्ने हुँदा असोज महिनालाई हटाएर त्यसलाई कार्तिक बनाउन आवश्यक रहेको मल्ले बताए । यसरी एक महिना कटौती गर्दा आर्थिक वर्ष, कर्मचारीको निवृत्तिभरण लगायतका विषयमा समस्या पर्ने भएकाले त्यसबारेमा सबै मिलाएर जानुपर्नेमा उनको जोड छ । रातोपाटीबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।