एजेन्सी,गत वर्षदेखि कारागारमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासिओ लुला डि सिल्भा रिहा भएका छन् । न्यायाधीशले रिहा गर्न आदेश दिएपछि लुला शुक्रबार जेलबाट छुटेका हुन् । फौजदारी मुद्दामा पहिलो सुनुवाइ हुँदा कुनै व्यक्ति हारेमा पनि त्यस्तो अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले उल्ट्याएपछि न्यायाधीशले लुलालाई रिहा गर्ने आदेश जारी गरेका थिए ।

जेलबाट बाहिर निस्कने क्रममा उनले आत्मविश्वासका साथ मुठ्ठी उचालेर आफ्ना समर्थकलाई अभिवादन गरेका थिए । लुलालाई स्वागत गर्न जेलबाहिर वर्कर्स पार्टीका सदस्यहरु रातो झण्डा ‘लुलालाई रिहा गर’ लेखिएका नारासहित उपस्थित थिए । लुलालाे जेलबाट रिहा हुनेबित्तिकै आफू निर्दोष भएको प्रमाणित गरेर देखाउने बताएका छन् । साथै कुहिएको न्यायिक प्रणालीबाट बामपन्थीलाई अपराधी करार गर्न भइरहेका प्रयासको समेत भण्डाफोर गर्ने उनले चेतावनी दिएका छन् ।

जेलबाट रिहा भएपछि लुलाले देशव्यापी भ्रमण गर्ने भएका छन् । उनले शनिबार साओ पोलोमा आफ्ना समर्थकलाई जुलुस आयोजना गर्न समेत भनेका छन् । अदालतले लुलाविरुद्ध ८ वर्षको जेल सजाय सुनाएपछि गत वर्षदेखि उनी कारागारमा थिए । इन्जिनियरिङ फर्मबाट घुस लिएर सरकारी सम्झौता गरेको पुष्टि भएपछि उनलाई जेल सजाय सुनाइएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।