राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चारदिवसीय सद्भावना भ्रमण गर्ने भएका छन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणकाक्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमन्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन् । बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।

उनीसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।