एजेन्सी, २२ कात्तिक,इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो क्लबका सर्वाधिक कमाउने खेलाडी भएका छन् । इटालियन च्याम्पियन क्लब युभेन्टसका साप्ताहिक कमाइ गर्ने खेलाडीको सूचीमा पोर्चुगिज स्टार रोनाल्डो सबैलाई उछिन्दै शीर्ष स्थान बनाएका हुन् । इटालियन मिडियाका अनुसार अघिल्लो सिजन मात्र स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस गएका उनको साप्ताहिक कमाइ ४ लाख ९६ हजार पाउण्ड रहेको छ । युभेन्टससँग सन् २०२२ सम्मको सम्झौता गरेका रोनाल्डोले क्लबका अन्य स्टार खेलाडीहरूलाई धेरै रकम अन्तरले पछाडि पारेका छन् ।

युभेन्टसले रोनाल्डोका साथै अन्य २ स्टारहरूलाई क्लबमा भित्र्यायो । आर्सनलबाट आरोन राम्से र डच क्लब आयाक्सबाट माथिस डी लिग्टलाई महंगो रकममा क्लबमा भित्र्यायो । त्यसबाहेक त्यहाँ अर्जेन्टिनी स्टार पाउलो डेबाला, गोन्जालो हिगुइन, डग्लस कोस्टा जस्ता खेलाडी रहेका छन् ।

युभेन्टसले साप्ताहिक रूपमा क्लबबाट कमाइ गर्ने खेलाडीको सूची बाहिर ल्याएको हो । हालै सार्वजनिक गरेको उक्त सूचीको पहिलो स्थानमा रोनाल्डो रहँदा दोस्रो स्थानमा राम्से रहेका छन् । २०२३ सम्म युभेन्टससँग सम्झौता गरेका राम्सेको साप्ताहिक कमाइ ४ लाख पाउण्ड रहेको छ । यस्तै तेस्रो स्थानमा साप्ताहिक २ लाख ६५ हजार पाउण्ड कमाउने माथिस डी लिग्ट छन् । यसै सिजन मात्र इटाली आएका उनले युभेन्टससँग २०२४ सम्म सम्झौता गरेका छन् । त्यसपछि आउँछन्, डग्लस कोस्टा । २०२२ सम्म सम्झौता रहेका कोस्टाले १ लाख ३२ हजार मासिक कमाउँछन् । यसैगरी गोन्जालो हिगुइन पाँचौै स्थानमा छन्, २०२१ सम्म क्लबसँग सम्झौता गरेका उनले १ लाख २८ हजार कमाउँछन् ।

त्यसभन्दा एक स्थान तल पीएसजीबाट युभेन्टस आएका एड्रिएन राबिओट छन् । १ लाख १६ हजार साप्ताहिक कमाउने उनले सन् २०२३ सम्म सम्झौता गरेका छन् । अनि आउँछन् पाउलो डेबला, जसले ९१ हजार कमाउँछन् । डेबालाले सन् २०२२ सम्म युभेन्टससँग सम्झौता गरेका छन् । ९१ हजार नै कमाइ गर्ने मिरोलेम पिजानिक सर्वाधिक कमाइ गर्ने खेलाडीको आठौं स्थानमा आउँछन् । मिरालेमले सन् २०२१ सम्म सम्झौता गरेका छन् भने २०२२२ सम्म क्लबसँग सम्झौता गरेका इम्रे क्यान यस सूचीको नवौं स्थानमा छन् । उनले साप्ताहिक ८३ हजार रकम आम्दानी गर्छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।