file photo

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको  छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  विज्ञप्ति जारी गर्दै दशरथ रङ्गशालामा खेल नहुने जनाएको हो । नेपाल र कुबेतबीचको खेल आगामी मङ्सिर ३ गतेका लागि दशरथ रङ्गशालामा तय भएको थियो । सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । अधिकतम प्रयत्नका बाबजुद नेपाल र कुबेतबीचको खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफीसमेत मागेको छ । विसं २०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि विश्वकप छनोटको खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५–० गोलले तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।