हेटौडा , २२ कार्तिक,समाजमा विभिन्न हिंसाको शिकार बन्ने गरेका महिला तथा बालबालिकाहरु आफै अपराधमा संलग्न हुनेको संख्या बढ्दो छ ।  मकवानपुरमा पछिल्लो समय विभिन्न अपराधमा महिला तथा बालबालिकाको संलग्नता बढेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरले दिएको तथ्यांकलाई हेर्दा अपराधमा महिला तथा बालबालिकाको संलग्नता बढ्दो अवस्थामा रहेको पाईएको छ ।  कार्यालयका नायब सुब्बा नेत्र प्रसाद आचार्यको अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ६१ जना महिला र ११ जना बालबालिका गरि ७२ जना विभिन्न अपराधको शिकार हुदा २३ जना महिला र ९ जना बालबालिका गरि ३२ जनाको संलग्नता पनि रहेको पाईएको छ । जसमा ज्यानसम्बन्धी मुद्वामा ४ जना महिला र २ जना बालबालिका गरि ६ जना पिडित बन्दा २ जना महिला र एकजना बालबालिका गरि ३ जना जना सोहि अपराधको प्रतिवादी रहेका छन् ।

जवरजस्तीकरणी तथा उद्योगमा १९ जना महिला र ९ जना बालबालिका गरि २८ जना पिडित बनेका छन् भने २ जना बालकहरुको सोहि अपराधमा संलग्नता रहेको छ । यस्तैगरी मानव बेचबिखनमा ८ जना महिला पिडित बन्दा बेचबिखनमा २ जना महिलाको नै संलग्नता रहेको नायव सुब्बा आचार्यले जानकारी दिए । उनले चोरीबाट १४ जना पिडित बन्दा ५ जना संलग्न रहेको पनि जानकारी दिए । यस्तै लागुऔषधमा ९ जना तथा अन्य अपराधमा २५ जना पिडित र १३ जना प्रतिवादी रहेका छन् ।

त्यस्तैगरि गत आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न अपराधमा ८२ जना महिला र २४ जना बालबालिका गरि एकसय ६ जना पिडित बन्दा ५२ जना महिला र २१ जना बालबालिका गरि ६३ जनाको संलग्नता पनि रहेको पाईएको छ । जसमा ज्यान मुद्वामा ९ जना महिला पिडित बनेका छन् । जबरजस्तिकरणी तथा उद्योगमा १९ जना महिला तथा १७ जना बालबालिका गरि ३१ जना पिडित बन्दा एकजना महिला र ४ जना बालकहरुको संलग्नता रहेको छ । त्यस्तैगरि मानबबेचबिखनमा एकजना महिला पिडित बन्दा ३ जना महिलाको सोहि मुद्वामा संलग्नता रहेको आचार्यले बताए । चोरी मुद्वामा १३ जना महिला तथा एकजना बालबालिकारी १४ जना पिडित बन्दा ३ जना महिला तथा एकजना बालबालिकाको संलग्नता रहेको पाईएको छ । आचार्यको अनुसार एक् जना महिला अपहरणमा समेत परेकी थिईन् । त्यस्तैगरि लागुऔषधमा १२ जना महिला तथा १२ जना बालबालिका गरि २४ जनाको संलग्नता रहेको पाईएको छ भने अन्य अपराधमा ३१ जना महिला तथा २ जना बालबालिका पिडित बन्दा २० जना महिला र ४ जना बालबालिका प्रतिवादी रहेको पाईएको छ ।

ती दुई आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४÷०७५ को भन्दा ०७५÷०७६ मा एकसय ८४ जना महिला तथा बालिबालिका विभिन्न हिंसाबाट पिडित बनेका छन् भने ४१ जना महिला तथा बालबालिकाको अपराधमा संलग्नता बढेको छ । तथ्यांकलाई हेर्दा प्रतिवादीको तुलनामा पिडितको संख्या बढेको पाईपनि पिडितको तुलनामा पिडक बढ्नु थप जटिल हुने नासु आचार्यको भनाई छ । उनले महिला प्रतिवादीहरुलाई कानुनमा व्यवस्था भएअनुरुप दण्ड सजाय हुने गरेको बताए । आचार्यले बालबालिकाबाट भएको अपराधलाई बालबिज्याई भनिने हुदा उनीहरुलाई बालसुधार केन्द्रमा राखिने गरेको बताए ।
जिल्ला सरकारी वकिल कार्यालयमा सरकारवादी मुद्वाहरु आउने गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।