युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा बार्सिलोना चेक रिपब्लिक क्लब स्लाभिया प्रहासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको उक्त खेलमा पटक–पटक गोल गर्नबाट चुक्दा बार्सिलोना बराबरीमा रोकिन बाध्य भएको हो । कप्तान लियोनल मेस्सीले दोस्रो हाफमा तीनपटक गोल गर्ने मौका पाएका थिए । तर, उनी सफल हुन सकेनन् । मेस्सीले उपलब्ध गराइदिएको पासमा एन्टोइन ग्रिजम्यानले गोल गरेका थिए तर ५८औं मिनेटमा उनले गरेको त्यो गोल अफसाइड पोजिसनमा रहेकोले रद्द गरियो ।

यस बराबरीसँगै समूह ‘एफ’ को शीर्ष स्थानको बार्सिलोनाले ८ अंक बनाएको छ । बार्सिलोनाले ४ खेल खेल्दा २ वटामा जित र २ खेलमा बराबरी खेलेको छ । यता, बार्सिलोनाको प्रतिद्वन्द्वी प्रहा भने उक्त समूहको पुछारमा छ । प्रहासँग २ अंक भएको छ । यस्तै उक्त समूहको दोस्रो स्थानमा डर्टमुड छ भने तेस्रोमा इन्टर मिलान रहेको छ । उनीहरूसँग क्रमशः ७ र ४ अंक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।