कात्तिक १७,विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार उनीहरुले बैंकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपीलाई थप कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।

पीडितलाई लाओस र भारत पुर्‍याएर अलपत्र पारी उनीहरु फरार भएको आरोप छ । रामेछापका नविनकुमार तामाङसमेत चारजनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौंडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम् पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।