हेटौंडा,१६ कार्तिक,प्रदेश नम्बर ३ सरकारले अन्य प्रदेशको तुलनामा बढि राजश्व अशुल्दा प्रदेशमा दर्ता हुने सवारीको सङ्ख्या न्युन रहेको छ । प्रदेश ३ सरकारले प्रदेश २ को तुलनामा यातायातमा १० प्रतिशत बढि राजश्व असुल्दा प्रदेश अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा दर्ता हुने सवारी न्युन रहेको हो ।

गत आर्थिक वर्ष ०७५÷०७६ को माघ महिनाबाट प्रदेश अन्तर्गत आएको कार्यालयमा हालसम्म तीनहजार आठसय ४२ सवारी दर्ता भएका छन् । दर्ता भएका सवारीमध्ये अधिकांश मोटरसाईकल रहेका छन् । यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख पोशण थापाको अनुसार हालसम्म कार्यालयमा दर्ता भएका सवारीमा तीनहजार पाँचसय ४२ मोटरसाईकल , एकसय ५२ ठुलो तथा मझौला सवारी , एकसय ४४ साना सवारी , दुईसय ५५ अटो तथा रिक्सा र दुई वटा ट्रयाक्टर रहेका छन् । प्रदेश ३ को अस्थायी राजधानी हेटांडामा नै यातायातसम्बन्धी सम्पुर्ण कार्य हुदा पनि यस प्रदेशको महंगो करको कारण छिमेकी प्रदेश २ को कार्यालय धाउनेको कमी नभएको कार्यालय प्रमुख थापा बताउछन् । उनले प्रदेश २ को यातायात कार्यालय नजिकै हुनु , त्यसमा पनि करमा १० प्रतिशत सहुलियत हुनाले अर्को प्रदेशका यस प्रदेशका सवारी चालकको आकर्शण बढेको बताए । यद्यपी भिआरएस प्रणाली सबै प्रदेशको एउटै हुने हुदा कार्यालयले अन्य प्रदेशमा दर्ता भई प्रदेश ३ मा सञ्चालनमा रहेको सवारीको भने कर असुल्दै आएको बताए । उनले ठुला सवारीको कर पनि धेरै हुने र त्यसमा पनि १० प्रतिशत बढि तिर्नुपर्ने हुदा साना मोटरसाईकलको तुलनामा ठुला सवारीहरु प्रदेश ३ को कार्यालयमा दर्ता हुन नआएको बताए । थापाको अनुसार गत आव ०७५÷०७६ मा २६ करोड ११ लाख ४८ हजार नौसय ७६ रुपैयाँ कर संकलन गरेको कार्यालयले चालु आवको दुई महिनामा पाँच करोड २८ लाख तीन हजार नौसय ३९ संकलन गरेको छ । जसमा गत आवमा सातहजार दुईसय ८६ र यस आवमा एकहजार ८३ सवारी पञ्जिकृत , दुईहजार सवारी चालक अनुमति पत्रको नविकरण , १९ हजार दुईसय २८ सवारीको ब्लुबुक नविकरण , १४ हजार दुईसय ३५ सवारीको रुट पर्मिट नविकरण गरिएको थियो ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ मा सवारीसम्बन्धि कडा व्यवस्था गरेको प्रदेश ३ को सरकार पछिल्लो समय यातायतसम्बन्धि ऐनमा केहि लचक बनेको छ । म्याद नाघेको तीन महिनासम्म पनि नविकरण नगर्ने सवारी चालकलाई १०० प्रतिशत नै कार्वाही गर्ने व्यवस्था गरेको सरकारले चारैतर्फको विरोध पश्चात सो व्यवस्था हटाएको छ । यद्यपी सवारीको राजश्वमा भने १० प्रतशतले गरेको वृद्विलाई सरकारले नघटाउने निर्णय गरेकाले प्रदेशमा दर्ता हुने सवारीको संङ्ख्या न्युन भएको यातायात व्यवसायीहरु बताउछन् । प्रदेशका ३ मा रहेको १० वटा यातायात व्यवस्था कार्यालयहरुमा ८ वटा उपत्यकामा रहेका छन् भने एउटा चितवन र एउटा राजधानी हेटांैडामा रहेको छ । तर सरकारले लगाएको महंगो करले गर्दा प्रदेश ३ का सवारी चालक पनि छिमेकी प्रदेश २ मा गएर दर्ता गर्न बाध्य रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।