हेटौँडा,१६ कार्तिक ।
साढे ६ वर्ष अघि मकवानपुरको हेटौँडा निवासी विन्दावासिनी कंसाकारलाई एसिड प्रहार गरि फरार रहेका दिलिपराज केशरीलाई प्रहरीले पक्राउ गरेपछि तत्कालिन मकवानपुरका प्रहरी प्रमुख (एसपी) गुप्तबहादुर श्रेष्ठले खुसी ब्यक्त गरेका छन् ।
उनले केशरी पक्राउले आफ्नो मनलाई निकै सन्तोष मिलेको समेत बताएका छन्् ।

सामजिक सञ्जाल मार्फत उनले भनेका छन् : म मकवानपुर प्रहरी प्रमुख रहेका बेला २०७० सालमा हेटौंडा बजार भित्रको आफ्नै घरको पसलमा रहेकी एक युवती माथी एसिड छ्यापेर भागेका भारतीय नागरिक दिलिपराज केशरीलाई ६ बर्ष पछि बारा प्रहरी कार्यालयले पक्राउ गरेर हेटौंडा प्रहरीले म्याद थप गरेको समाचार सुनेर आज मनमा धेरै सन्तोष भएको छ ।
यो घटनाले त्यो बेलादेखि अहिलेसम्म पनि मेरो मनमा नमिठो पिडा दिइरहेको थियो । ति युवतिको अनुहारमा एसिड छ्याप्ने अपराधीलाई त्यतिबेला पनि तत्कालै पक्राउ गर्न भारतको महाराजगन्जसम्म नै पुगेर निकै मेहनत गरेका थियौं । धेरै पटक कोशिस भयो तर सफलता मिलेन । आज पक्राउको यो समाचार सुनेपछि म अत्यन्त खुसी भएको छु । अपराधीले ढिलो वा चाँडो सजायँको भागीदार बन्छ भन्ने मान्यता स्थापित भएको छ ।
बारा प्रहरी प्रमुख विकासराज खनालजी र वहाँका सहयोगी अधिकृत जवान सबैमा धन्यवाद ।
पिडित ति किशोरी बहिनी विन्दवासिनी कंसाकार र परिवारजनलाई पनि केहि आत्म सन्तोष मिल्यो होला ।
यो घटना लगायत अन्य एसिड केशका बारेमा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक डा।चुडाबहादुर श्रेष्ठ र म लगायत केहि अन्य महानुभावहरुको समूहले १ बर्ष अघि हालका गृहमन्त्रीज्यू समक्ष एउटा प्रतिवेदन पनि पेश गरेका थियौं ।
अपराधीले हदैसम्मको सजायँ पाउने कुरामा म विश्वस्त छु ।
साढे ६ वर्षको अथक प्रयासपछि पक्राउ परेको केशरीलाई मकवानपुर प्रहरीले म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।