धेरै मानिसहरूलाई सवारी साधन वा बसमा यात्रा गर्दा वान्ता हुने वा रिगंटा लाग्ने समस्या हुने सक्दछ । तर, यात्रा नगरी पनि नहुने अवस्था हुन्छ अझ झन् चाडपर्वको बेलामा त बढी यात्रा गर्नुपर्ने बाध्यता नै जस्तो पनि हुँदछ । अरु समयभन्दा बढी चाडपर्वको बेलामा यात्रीहरूको संख्या धेरै हुने हुँदा यात्रा झनै सास्तीपूर्ण हुन्छ । कतिपय मानिसहरू त सवारी साधनको गन्ध नाकमा पर्नासाथ वान्ता गर्न थाल्दछन् त कतिपयलाई टाउको दुख्न थाल्दछ ।

यसरी यात्राका दौरान हुने यो समस्याले गर्दा यात्रा कठिन त हुन्छ नै अर्काेतिर यात्राको रमाइलोपन नै हराउँदछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ । सबै मानिसहरूमा यो समस्या एकै किसिमको भने हुँदैन । कसैलाई खाली पेट यात्रा गर्दा वान्ता हुँदैन भने कसैलाई खाना वा केही खाने कुरा खाएर यात्रा गर्दा वान्ता हुँदैन ।

केही घरेलु उपाय अपनाए यस्तो किसिमको समस्याबाट केही हदसम्म भएपनि राहत पाउन सकिन्छ । यात्रा गर्दा मुखमा सौंफ राखेर चपाइरहँदा पनि वान्ता हुने समस्याबाट छुट्कारा मिल्ने गर्दछ । काँचो आँपको सेवन गर्दा खाना पचाउन सहयोग गर्दछ भने त्यसकोे पातले वान्ता रोक्ने काम पनि गर्दछ । यसकारण यात्रा गर्दा आँपको पातको रस निकालेर पिउनाले पनि वान्ता हुने समस्यामा कमी आउन सक्दछ । यसैगरी मुखमा ल्वाङ चुसेर राख्नाले पनि वान्ता हुने समस्या कम हुने गर्दछ । यस्तै अदूवामा पनि वान्ता रोक्ने औषधीय गुण हुन्छ । यात्राका क्रममा अदूवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट राहत हुन्छ । यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु पनि फाइदाजनक नै मानिन्छ ।

यस्तै गाडीमा यात्रा गर्नुअगाडि चिल्लो खाना र मदिरापान गर्न हुँदैन । बस्दा यात्रा गरिरहेको दिशातिर फर्किएर बस्ने गर्नुपर्छ र सकेसम्म गाडीमा बस्दा गाडीको अगाडिको सिटमा बस्ने गर्नुपर्छ । बसेको ठाउँमा सफा हावाको कमी हुन नदिनको लागि झ्याल खुल्ला छाड्नुपर्छ । यात्रा गर्दा किताब वा पत्रपत्रिका नपढ्ने, आफ्ननो आँखा बन्द गरेर बस्ने वा टाढाको कुनै विन्दु हेरेर बस्ने गर्नुपर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।