-अर्पण पराजुली, ७ कात्तिक,नेपालमा गणतान्त्रिक राजनैतिक यात्राको क्रममा मजबुत जनधार सहित बनेको बाम सरकारले “सुखी नेपाली , समृद्ध नेपाल”को अवधारणा प्रस्तुत गर्‍यो। सिमान्तकृत र पीछडीएको बर्ग लक्षित कार्यक्रमहरु घोषणा भयो। हेटौंडाका नगर प्रमुखले मशानघाट् नजिकको झुपडीमा २ बर्ष देखि बसिरहेको परिवारको उद्दार गरे, प्रधानमन्त्री के. पी. शर्मा ओलिले अब नेपालमा” नो स्ट्रीट पिपुल” भन्ने उधघोस गरे, यस्तो प्रयास साँकेतिक भए पनि यसले जिबनस्तर सुधारको क्षेत्रमा यस्ले अत्यन्त महत्व राख्दछ।अब्बल जनपक्षीय शाषन ब्यबस्थाको ढाँचा मानिएको सँघीय सँरचनाको अभ्यास गरिरहेको नेपालमा घरबारबीहिन मानव ब्यबस्थापन कति चुनौतीपुर्ण छ चर्चाको बिषय बन्नु पर्छ। राजनैतिक भाषामा सर्बहारा भनेका यस्तै मानव हुन भन्ने बुझ्नु पर्छ भने मानबीय दृस्टिले हेर्दा यस्ता मानव तातेताते गर्दै समृद्धि तिर लान उपयुक्त छन भन्ने संझनु पर्छ। समाजबादी तर्क होस या पुँजीबादी तर्क सबैको साझा सवाल आम जनताको जिबनको गुणस्तर अभिबृद्दी गर्नु हो। यो या त्यो नभनी यो बिषयलाइ साझा चासो बनाउँन आबश्यक छ।

समृद्धि र सभ्यताको सुचक ब्यबस्थित घरसुबिधा पनि हो। बिश्वमा ब्यबस्थित आवास र सुरक्षीत जिबनको लागी धेरै प्रयासहरु भएता पनि अझै १ करोड ६० लाख घरबीहिन मानव भएको अनुमान छ।अमेरिकाको न्युयोर्क र क्यालिफोर्निया शहर बिश्वकै सबैभन्दा बढी घरबीहिन मानव बस्ने शहरको रुपमा चिनिन्छ(ourworldindata.org)।आधारभुत आवासस्थल पनि नभएका,सडकमा बस्ने,बृद्दआश्रम/ बालगृह/अन्य आश्रयस्थलमा बस्ने( शरणार्थी), सवारी साधनमै सुत्ने, ओडारमा बस्ने, प्रतीक्षालयमा बस्ने, धार्मिकस्थलमा बस्ने,जङ्गलमा बस्ने, रेल्वे स्टेशनमा बस्ने , आफन्त वा अरु कसैको घरमा शरण लिँदै हिड्ने र प्रत्येक रात कहाँ बास बस्ने भन्ने निश्चित नभएका मानव हरु नै घरबीहिन मानव हरु हुन।

दीर्घ घरबारबीहिन,प्रासंगिक घरबारबीहिन,सँरमणकालिन घरबारबीहिन र लुकेको घरबारबीहिन नै यस्ता मानवका मुख्य स्वरुपहरु हुन।लन्डनमा सन २०१० देखि २०१६ सम्ममा अस्ताब्यस्त रुपमा सुत्ने मानिसहरुको सँख्या १०४% ले बढेको देखियो। सन २०१८ मा लन्डनमा ४६७७ मानिस हरु अस्तब्यस्त रुपमा जहाँ पायो त्यहीँ सुत्ने गरेको र बेलायतमा कुल १४३००० जना घरबारबीहिन मानव रहेको पाइयो (roughsleepers statistics autumn England)l बेलायतले घरबारबीहिन मानव शुन्यमा झार्ने भनेर अनेकौं प्रयास गर्दा पनि अझै यो बिकराल समस्याको रुपमा रहेको देखिन्छ। अस्ट्रेलिया, मेक्सिको, क्यानडा, भारत,जर्मनी लगायत बिश्वका विकसित देशहरुमा पनि घरबारबीहिन मानवहरु प्रशस्त रहेको देखिन्छ।

मानिस किन र कसरी घरबारबीहिन बन्छ भन्ने निश्चित छैन। घरबारबीहिन मानवहरु आफैंमा शारीरिक र मानसिकपीडामा हुन्छन् साथै अन्य ब्यक्तिको हेय दृस्टिकोण र अनिश्चित भबिस्यको कारण नैराश्यताको सिकार भएका समेत हुन्छन्। प्रत्येक मानिसको मस्तिष्क र शरीर रास्ट्रनिर्माणको औजारहरु हुन। अव्यवस्थित र कारुणिक रूपमा रहँने यस्ता औजाररुपी मानवहरु अरु ब्यक्ति, समाज र रास्ट्रकै लागी बोझ जस्तै बन्न पुग्छन।

दीर्घ गरीबी,बेरोजगारी,महँगो घरसुबिधा,मानसिक रोगी,दुर्ब्यसन,घरेलु हिँसा,युद्ध ,प्राकृतिक प्रकोप, घरपरिवार गुमाउनु, बेचबिखनमा पर्नु, पुर्ब अपराधी आदि घरपरिवार बीहिन बन्नुका मुख्य कारणहरु हुन। दिउँसो जहाँ जसरी बसे पनि राती सुरक्षीत बासस्थान पाउँनु मान्छेको अधिकार र आबश्यक्ता दुबै हो।सँरचनात्मक तत्वहरु, प्रणालीगत त्रुटिहरु र ब्यक्तिगत तत्वहरु नै घरबारबीहिन मानव हुनुका मुख्य स्रोतहरु हुन।

स्थानीय सरकार जनताको सबैभन्दा नजिक रहँने सरकार हो। सेवा क्षेत्रका ब्यक्ति ब्यक्तिको जानकारी राख्ने र स्थानीय सरोकारको जानकार र योजनाकर्ताको रुपमा रहँने सरकारनै स्थानीय सरकार हो। नेपालमा गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिती स्थानीय जनाप्रतिनिधीको उपस्थित रहँने थलो हो। स्थानीय स्वायत्त शासन ऐन,२०५५ मा बेसहरा मानिसको पालन पोषणमा स्थानीय सरकार उत्तरदायि हुनु पर्ने कुरा समेटीएको छ भने सारा जनताको अभिभावक स्थानीय सरकार नै हो। समृद्धिको सुचक फराकिलो बाटो, ठुला भवनहरु र प्रबिधिको बिकास मात्र होइन बरु सबै मानिसको जिबनमा कल्याणको वृद्धि पनि हो। कोहि मानिस मन लागेको सेवा सुबिधा छानीछानी उपभोग गर्न सक्ने र कोहि अरुको जुठो खाएर , घृणा र अपहेलना सहेर बाँच्नु पर्ने गाउँ सहर सभ्य बस्ती हुनै सक्दैन। सबैको कल्याण हुने नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु स्थानीय सरकारकै दायित्व हो। ब्यक्ति -ब्यक्ति,निजि क्षेत्र, गैर सरकारी क्षेत्र, सरकारी क्षेत्र सबैलाई समेटेर उपयुक्त रुपमा घरपरीवार बीहिन मानव ब्यबस्थापनको प्रयास गर्नु पर्छ।चेतनामूलक उतरदायित्व बोध हुने कार्यक्रम सँचालन,नियोजित रूपमा मानिसलाई घर बीहिन बनाउँनेलाई सामाजिक बहिस्कार र कडा कारबाहीको ब्यबस्था, नियमित बजेटको ब्यबस्था जस्ता कार्य हरु स्थानीय सरकारले गर्नु पर्छ । हरेक अबस्थाका ब्यक्तिहरुको पालनपोषण र सहज जिबनशैलीको बाताबरण बनाउँनु स्थानीय सरकारकै दायित्व हो। स्थानीय सरकार सकृय र जिम्मेवार हुन सकेमा अनाथ असहाय र घरबार बीहिन मानवहरुले दुराबस्था भोग्नु पर्दैन भने यस्ता मानवहरुको नाममा भैरहेका ब्यबसायजन्य गतिविधिमा न्यूनीकरण भै वास्तवीक सभ्य,समृद्ध र मानवीय समाजको स्थापना हुन सक्छ।

(लेखक स्थानीय सरकार र घरवार बीहिन मानव सम्बन्धमा पिएच. डी. अध्ययनरत हुनुहुन्छ)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।