file photo

कात्तिक १- हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएका छन् । प्रभावशालीहरूको प्रभावमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् ।

उनीहरू जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको बताउँछन् । जसका कारण केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय पछिल्लो समय गुपचुप बन्दै गएको पाइएको हो ।

बालुवाटारको सरकारी जग्गा माफिया र मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको पुष्टिसँगै सरकारले आयोगमार्फत छानबिन थालको थियो । तर, अपेक्षित रूपमा जग्गा अपचलनका विषय भने छानबिनको घेरामा पर्न सकेको छैन ।

सरकारले देशभरका जग्गा हिनामिनाका उजुरी छानबिनका लागि ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’ गरेर छानबिन थालेको थियो ।

तर, आयोगमा अपेक्षा गरेअनुसार उजुरी आउन सकेको छैन । आयोगका सदस्य हजारौंको संख्यामा उजुरी पर्ने अपेक्षा गरिए पनि उजुरी गुपचुप बन्दै गएको बताउँछन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराई अपेक्षाअनुसारको उजुरी नपरेको बताउँछन् ।

आयोगले यसअघिका प्रतिवेदन कार्यान्वयन हुन नसकेका विषय समेतलाई छानबिन गरी आवश्यक सुझाव दिने कार्यादेश पाएको छ । ६ महिनाको समयावधि पाएको आयोगको साढे चार महिनाको समय सकिएको छ । यस अवधिमा १ सय ७५ को संख्यामा मात्र उजुरी परेका छन् ।

आयोगका सदस्य तथा भूमिसुधारका जानकार हालसम्मका छानबिनबाट प्रभावशाली व्यक्तिकै संलग्नतामा जग्गा हिनामिना हुने गरेको पाइएको बताउँछन् ।

आयोगको कार्यादेशअनुसार यसअघि बनेका विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन हुन नसक्नुका कारण र ती प्रतिवेदनलाई कसरी प्रभावकारी कार्यान्वय गर्ने विषयमा समेत आवश्यक सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ ।

आयोगले यसअघिका प्रतिवेदन र पछिल्लो छानबिनबाट पत्ता लाग्ने दोषीहरूलाई कारबाही सिफारिस गर्ने तयारीअनुसार प्रतिवेदन अध्ययन, विज्ञसँगको छलफल लगायतलाई निरन्तरता दिइएको बताएको छ ।

आयोगले हिनामिना गरी व्यक्तिका नाममा गर्ने तथा जग्गा अतिक्रमणका उजुरीको संख्या बढाउन जिल्लाबाट उजुरी दिन सकिने व्यवस्था गरेको थियो । तर, जिल्लाबाट समेत उत्साहजनक उजुरी आउन सकेका छैनन् ।

आयोगका सदस्य जिल्लाबाट छिटफुट रूपमा १र२ वटा मात्र उजुरी परेकोे बताउँछन् । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयमार्फत स्थानीय तहसम्म सर्कुलेसन गरेको थियो । ‘हामीले ठूलो संख्यामा उजुरी पर्ने सम्भावना देखेका थियौं । तर, अपेक्षित उजुरी आएनन्,’ आयोगका एक सदस्यले भने । राजधानी दैनिकले खबर छापेको छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।