जलेश्वर, १ कात्तिक,महोत्तरीको गौशाला–सम्सी सडकखन्डमा टिपरले ठक्कर दिँदा शुक्रबार बिहान बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार सो सडकखन्डको सम्सी गाउँपालिका–२, पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका ८ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो ।

टिपर तीव्रगतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखन्ड चक्काजाम गरेका छन् ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरीको महोत्तरी गाउँपालिका–६, हरिगौरीगामा पोखरीमा डुबेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

बालिका ठाकुर साथीसँग घरनजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उनले बताए । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।