–रमिला सापकोटा,कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि आत्महत्या गरे सोमबार । उनकी पत्नीले वैशाख १६ गते आत्महत्या गरेकी थिइन् । ससुराली पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेपछि रामबहादुर जेल परे । अदालतले सफाइ दिएपछि साउन २२ गते थुनामुक्त भए । आमाको आत्महत्या, बाबु जेलमा । ३ वर्षीया छोरी अर्थात् अभिभावककविहीन बालबालिकाको मनोदशाबारे समाज संवेदनशील हुनै सकेन । यसमाथि जेलबाट छुटेको केही सातामै अन्ततः रामबहादुर त्यही अपराधमा फसे । पत्नीलाई मर्न दुरुत्साहन गरेको आरोप त खेपेकै थिए, छोरीलाई पनि विष पिलाए र आफूले पनि आत्महत्याको बाटो रोजे । एउटा सुखी परिवार केही महिनामै अस्तित्वविहीन हुन पुग्यो ।

आत्महत्या गर्नेको संख्या बढ्दो छ । महिला मात्र होइन, पुरुष पनि आत्महत्याको बाटो रोजिरहेका छन् । अझ काठमाडौंमै भदौमा तीन सामुहिक आत्महत्या भए । काठमाडौं पढ्न बसेका किशोर वैदेशिक रोजगारीमा गएकाको पत्नीसँग चुम्बन गरिरहेको तस्बिर बाहिर आएपछि दुवैले सामुहिक आत्महत्या गरे । जेल परेका पुरुष र महिलाबीचको प्रेम सम्बन्ध घरमा चर्चा भएपछि पुरुषले प्रेमिकासहित आत्महत्या गरे । भक्तपुरमा कान्छी श्रीमती विवाह गरेको भनेर पहिलो श्रीमतीले मुद्दा हालेपछि प्रहरीमा मिलापत्र गरेर जेठी र बालबच्चा हेर्छु भनेर मिलापत्र परेका पुरुषले कान्छीसहित आत्महत्या गरे । प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांकमा आत्महत्या विकराल बनेर समाज विखण्डनको आगो झोसिरहेछ । १९ देखि ३९ वर्ष उमेरका पुरुष र महिला आत्महत्याको बाटो रोजिरहेका छन् । विवाहेत्तर सम्बन्ध बाहिर आएपछि आत्महत्याको बाटो रोज्नेको संख्या बढ्दो छ । भदौमा बाग्लुङमा एक युवतीले दिदीभिनाजुले घरमै अरु युवकसँग फेला पारेपछि पत्र लेखेर नै म यही दुईका कारण संसार छाड्दैछु भनेर आत्महत्या रोजिन् ।

दैनिक १६ जनाले आत्महत्या गर्न थालेपछि पछिल्लो समय समाजमा मानिस कुनै पनि बेला आत्महत्याको बाटो रोज्न थालेकाले समस्या बनिरहेको छ । यसको सबैभन्दा मारमा बालबालिका परिरहेका छन् । वैदेशिक रोजगारी, युद्ध, बहुविवाहले अभिभावकविहीन भएका बालबालिका पछिल्लो समय आत्महत्याका कारण अभिभावक गुमाउनुको पीडामा छन् । कतिपय घटनामा त अभिभावकबाटै मारिएका छन् । केही समयअघि चितवनमा पनि एकै परिवारका पाँचजनाको मृत्यु शंकास्पद थियो । मारिनेमा बालबालिका बढी थिए । निरासा, बहुविवाहपछिको उल्झन, परिवार व्यवस्थापनमा समस्या, समाजले गर्ने विभेद र तिरस्कृति जिन्दगीदेखि निराशहरु आत्महत्याको बाटो रोजिरहेका छन् । परीक्षा असफता, रोजगारीले जिन्दगी धान्नै नसक्ने अवस्थामा सन्तान र आश्रित आफन्तको समस्या, प्रेम सम्बन्धमा आउने तिक्तताले पनि परिवार धमाधम विखण्डनको सिकार भइरहेको छ । आत्महत्या नेपालमै पनि दोश्रो अपराधमा करार भइसकेको छ । समाजमा आत्महत्या कसरी न्युनिकरण गर्ने भन्ने समस्या बनेको छ । समस्या समाधान भन्दा अरु जटिल मोडमा समाज गुज्रन थालेको छ । जुनसुकै उमेरका पनि आत्महत्यामा होमिन थालेपछि घर–घरमा नागरिकको सुरक्षा कसरी गर्ने भन्ने प्रश्न थपिएको छ । निरासाको चरम रेखामा पुगेपनि मान्छे आत्महत्याको बाटो रोजिरहेको छ । आफ्ना भावना कसैलाई भन्न नसक्ने, भन्दा सुन्नेले समस्या हल भन्दा बरु चर्कादिने र समाजमै बहिस्कृत हुनु पर्ने अवस्था आउने आशंकाले पनि मानिस समस्या झेलिरहँदा कसैलाई सुनाउन नसक्ने भएको छ । अर्कातिर समाज सामाजिक सञ्जालमा त रत्तिएको छ । तर विस्तारै भावनात्मक र एकलकाँटे हुँदै गएको छ । सामाजिक सञ्जालले समाधान कम र समस्या बल्झाउने बढी काम गरिरहेको विषयलाई प्राथमिकतामा राखेको छ । परिवारमै पनि सबै आआफ्ना कामका व्यस्त भइरहेकाले कुन सदस्य कुन समस्या खेपिरहेको छ, एकअर्कामा यो विषयमा छलफल हुन सकिरहेको हुँदैन । त्यसैले बाहिरी समाजमा हाँसिखुशी देखिँदा पनि कुनै पनि बेला मानिस आत्महत्या रोजिरहेको छ ।

पछिल्लो समयक कयौँले त अब मृत्यु रोज्न लागेँ भनेर जनाउ पनि दिएका छन् । तर थाहा हुँदाहुँदै पनि उनीहरुलाई बचाउन सकिएको छैन । चितवन र मकवानपुरका किशोरले फेसबुकमै लाइभ गरेर आत्महत्याको बाटो रोजे । उनीहरुलाई बचाउन सकिएन । कयौँ राम्रा काम गरिरहेका, सामाजिक संस्था र सामाजिक सञ्जालमा राम्रो शुभचिन्तक र साथी भएकाहरु पनि राति आत्महत्याको बाटो रोजेर समाजलाई नरमाइलो पारिरहेका छन् । उनीहरुको भावना बुझ्न ढिलो हुँदा, उनीहरुको चाहना समाजले सुन्ने फुर्सद नहुँदा अनि उनीहरुको रोजाइ अरु कसैले छिनिदिँदा पनि विरक्तिएर एक्लै हुँदा बढी नै निरास बन्दै आत्महत्या गरिरहेका छन् । पछिल्लो समय केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आत्महत्या न्युनिकरणका लागि गम्भीरता देखाएका छन् । केन्द्रबाट नै सबै प्रदेशमा आत्महत्या न्युनिकरणका लागि सामाजिक अभियान चलाउने, परामर्श गर्ने र सर्वसाधारणमा पुग्ने लक्ष्य राखेकर केही रकम पनि विनियोजना गरेको छ । तर यो बजेट स्थानीयस्तरमा अभाव, पीडा खेपिरहेका समुदायमा पुग्न सक्ला कि नसक्ला ? कतै शहरका केही गोष्ठी र छलफलमै पो सकिने हो कि भन्ने शंका पनि छ । किनभने को आत्महत्या गर्दैछ भनेर अरु क्षेत्रमा जस्तो यो क्षेत्रमा लक्षित वर्ग पाउनै गाह्रो छ । समाजमा कुनै पनि घरमा कुनै बेला जो कोही आत्महत्याको सिकार हुनसक्ने भएकाले वडा, टोलटोलमा आत्महत्या न्युनिकरणका लागि अभियान जरुरी छ । आत्महत्याकै कारण भत्किँदो समाज र विखण्डन रोक्नु छ । यो कुनै युद्ध, दुर्घटनाको घाउ भन्दा पीडादायी बनिरहेको छ । विश्वमा वार्षिक ८ लाख मान्छे आत्महत्या रोजिरहेका छन् र नेपाल पनि आत्महत्याको पीडा परेकाले यसलाई सरकार र सामाजिक संस्थाले अबको मुद्दा बनाएर सर्वसाधारणको ज्यान जोगाउँदै समाजलाई अशल नागरिक बचाउने दायित्व हामी सबैको हो ।

(लेखक मकवानपुरमा सामाजिक संस्थामा क्रियाशील हुनुहुन्छ ।)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।