असोज १६- यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालिन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टी गरेको छ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षकर्मी लिएर त्यहाँ पुगेको देखिएको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो।

एक घण्टा १९ मिनेटपछि ८ः२५ मा उनी त्यहाँबाट फर्किएका थिए। प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ।

अघिल्लो दिनसम्म आफूमाथि महराले यौन हिंसा गरेको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनएकी शाही ४८ घण्टाभित्रै ‘युटर्न’ भइन्।

शाहीले सोमबार आफैँले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरित खालको अन्तर्वार्ता मंगलबार दिइन्।

उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन्।

मंगलबार राति यस विषयमा जिज्ञासा राख्दा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के, आ–आफ्नो काम गर्नुस्।’

शाहीले बुधबार साँझ महानगरीय प्रहरी वृत्त बानेश्वरमा लिखित निवेदन दिँदै आफूमाथि यौन दुव्र्यबहार भएको भनी मिडियामा आएको कुरामा सत्यता नभएको उल्लेख गरेकी छन्।

शाहीले ४८ घण्टाभित्रै किन बयान फेरिन् भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीले चासो देखाएको छैन।

यसबारे राज्यका अन्य निकायले पनि चासो लिएको देखिँदैन।

बरु उनी असुरक्षित हुन सक्ने वा भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाडौँले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ।

यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने मंगलबार बिहानपछि अपरान्ह ४ बजेसम्म महिला सम्पर्क बाहिर रहेको र त्यही समय उनी आफ्नो बयान फेर्न दबाबमा परेको हुन सक्ने सुनाए।

घटना सार्वजनिक भएपछिको अबधिमा शाही परिवार वा नातेदारको साथमा नहुनु र महरासँग निकट व्यक्तिहरुको सम्पर्कमा पुग्नुबाट पनि उनी दबाबमा परेको आशंका जन्मिन्छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।