एजेन्सी,भारत र पाकिस्तानबीच यदि परमाणु युद्ध भयो भने एक हप्ताभित्र कम्तीमा ५० लाखदेखि १२ कराेड ५० लाख मानिसको ज्यान जान सक्छ । एक अध्ययनमा यो कुरा बताइएको हो ।  अध्ययनका अनुसार भारत–पाकिस्तान परमाणु युद्धको स्थितिमा ज्यान गुमाउने मानिसको संख्या दोस्रो विश्व युद्धमा ज्यान गुमाउने भन्दा धेरै हुनेछ ।  कोलोराडो बोल्डर विश्वविद्यालय र रुतगेर्स विश्वविद्यालयका विश्लेषकको एक समूहले विश्लेषण गर्दै यदि भविष्यमा यस्तो युद्ध हुँदा यसको असर र कुप्रभाव कस्तो र के हुन्छ भनेर बताइएको छ ।

यो अध्ययन ‘साइन्स एड्भान्स’ जर्नलमा प्रकाशित भएको छ । अध्ययनमा भनिएको छ– भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर कैँयौ युद्ध भएको छ तर सन् २०२५ सम्म उनीहरुसँग कुल चार सयदेखि पाँच सयसम्म परमाणु हतियार हुनेछ ।  यी दुई देशबीच युद्ध हुँदा पृथ्वीमा आउने सूर्यको किरणमा २० देखि ३५ प्रतिशतसम्म कमी आउनेछ र पृथ्वीकाे तापमान दुईदेखि पाँच डिग्री सेल्सियससम्म कम हुनेछ । यो युद्धको प्रभावमा एक हप्ताभित्रको समयमा ५० लाखदेखि १२ कराेड ५० लाख मानिसको ज्यान जान सक्छ ।

यसका साथै यो युद्धको प्रभावमा विश्वभरि फैलने भोकमरी जस्ता अन्य कारणबाट मृतकको संख्या अझ बढ्न सक्छ ।  यी दुई देशबीच परमाणु युद्ध भयो भने विश्वमा हुने वर्षामा १५ देखि ३० प्रतिशतसम्म कमी आउन सक्ने र विभिन्न क्षेत्रमा व्यापक प्रभाव पर्ने अध्ययनले बताएकाे छ । यतिमात्र नभइ पृथ्वीमा भएको रुखबिरुवामा पनि १५ देखि ३० प्रतिशतसम्म कमी आउन सक्छ । त्यस्तै समुद्री जीवमा पनि पाँचदेखि १५ प्रतिशतसम्म कमी हुन सक्ने अध्ययनले बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।