असोज १६- दसैँ नजिकिँदै गर्दा काठमाडौंबाट घर फर्किनेको भिड बढ्दै गएको छ । दसैँका लागि उपत्यकाबाट २५ लाख व्यक्ति बाहिरिने ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको अनुमान छ । एक हप्तायता बुधबारसम्म १२ लाख बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, यात्रुलाई काठमाडौंका नाका छिचोल्न मुस्किल पर्ने गरेको छ । भत्किएका सडक र कमजोर ट्राफिक व्यवस्थापनका कारण नाकाहरूमा जामको समस्या छ । थानकोट–नागढुंगा–नौबिसे सडकखण्डमा घन्टौँ जामका कारण १० असोजमा काठमाडौं आउँदै गरेका रौतहटका बिरामी रूपलाल साहको बाटैमा ज्यान गयो ।

उपत्यकाबाट बाहिरिने मुख्य चार नाका छन् । थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो, जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिन्छन् । त्यस्तै, बल्खु–चोभार नाका हुँदै १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै पाँच प्रतिशत यात्रु बाहिरिन्छन् । तर, बालाजु हुँदै नुवाकोटको ककनीतर्फ जाने सडक बिग्रिएकाले त्यसको चाप पनि नागढुंगामा परेको महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले बताए ।

‘यस वर्ष नागढुंगा नाका विगत दसैँमा भन्दा बढी व्यस्त हुनेछ । बालाजु–गोलढुंगा–ककनी सडक बिग्रिएको छ । त्यसैले नुवाकोट र रसुवा जाने यात्रु धादिङको गल्छी हुँदै घर जानेछन् । यसले नागढुंगा नाकालाई थप व्यस्त बनाउनेछ,’ उनले भने ।

महाशाखाका अनुसार यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका १४ स्थानमा सहयोग कक्ष राखेको छ । कलंकी, बालाजु, नयाँ बसपार्क, चाबहिल, गौशाला, काटेश्वर, सातदोबाटो, बल्खु, सुन्धारा, पुरानो बसपार्कलगायत क्षेत्रमा सहयोग कक्ष राखिएको हो । यात्रुले जुनसुकै वेला सहयोग लिन सक्छन् । टिकट ब्ल्याक गरेको, मापसे गरेको, सिट नपाएको, यात्रु बढी हाल्ने घटनाको अनुगमन गर्न ट्राफिक प्रहरीले विशेष सुरक्षा योजनासमेत बनाएको छ । कसैले बदमासी गरेको भेटिए कारबाही हुने प्रहरीको भनाइ छ । ‘यात्रुको सहयोगका लागि १४ स्थानमा हेल्पडेक्स राखेका छौँ । डेक्समा चौबिसै घन्टा प्रहरी परिचालन हुनेछन् । यसका अतिरिक्त प्रत्येक चोक र नाकामा मापसे चेक हुन्छ । यात्रुको अवस्था जाँच गरिन्छ । टिकट पाएर सिट नपाएको अवस्था छ–छैन सोधपुछ गरिन्छ । कसैले गल्ती गरेको भेटिए कारबाही हुन्छ,’ प्रवक्ता एसपी पौडेलले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।