file photo

असोज १३- सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।

कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय ९सदन धान गोदाम०बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।

सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झैँ यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उहाँले बताउनुभयो ।

यस वर्षका लागि कम्पनीले काठमाण्डौ उपत्यकामा झण्डै तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र झण्डै एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।

केही खसी, बोका तथा च्याङ्ग्रा काठमाण्डौ आइसकेका छन् । अरु एकरदुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिनुभयो । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उहाँको भनाइ छ ।

घाटा खाएर उपभोक्तालाई राहत

सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले जानकारी दिनुभयो । कम्पनीले खसी, बोका ढुवानीबाहेक जिउँदो प्रतिकिलो ५७० रुपैयाँ र दाङबाट प्रतिकिलो ५३५ रुपैयाँमा खरिद गरेको छ ।

त्यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो ५६० रुपैयाँमा खरिद गरिएको छ । कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो । ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ । कम्पनीले मुस्ताङबाट एक हजार ९२० च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो ।

अहिले राजधानीका अन्य खसीबजारमा जिउँदो खसी बोका ६५० रुपैयाँ र च्याङ्ग्रा ७५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ ।

सरकारले सिधै किसानको गोठबाट खरिद गर्दा उनीहरुले पनि उचित मूल्य पाएको कम्पनीको महाप्रबन्धक गौचनले बताउनुभयो । सरकारले खरिद गरेको मूल्यका आधारमा नै अन्य किसानले पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेका छन् ।

खसी, बोका तथा च्याङ्ग्रा व्यापारीले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गर्दछन् । जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका पाइन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।