असोज ५- स्पेनिस ला लिगामा आफ्नो टोलीले हार ब्यहोरेपछि साबिकको विजेता क्लब बार्सिलोनाका प्रशिक्षक निरासिएका छन् । उपाधि दाबेदारसमेत मानिएको डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले नवप्रवशेशी क्लब ग्रानडाविरुद्ध हार ब्यहोरेपछि प्रशिक्षक अर्नेस्टो भाल्भेर्डे निरासिएका हुन् ।

शनिबार राति आफ्नो पाँचौं खेल खेलेको बार्सिलोनाले नवप्रवेशी क्लब ग्रानडाविरुद्ध २–० गोलको हार ब्यहोरेको थियो । ग्रानडाकै घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोनालाई हराउन रामोन अजीज र अल्भारो भाडिलोले समान एक–एक गोल गरेका थिए ।

बार्सिलोनाको यो सिजनको दोस्रो हार हो । स्टार खेलाडीहरू लियोनल मेस्सी, लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान, अन्सु फातिलगायत हुँदा पनि ऊ अवे मैदानमा स्तब्ध बन्यो । बार्सिलोनाले सन् १९९४–९५ को सिजनपछि पहिलोपटक ग्रानडाविरुद्ध हार ब्यहोरेको हो । आफ्ना स्टार खेलाडीहरू छँदा–छँदै बार्सिलोनाले हार ब्यहोरेपछि बार्सिलोनाका प्रशिक्षक भाल्भेर्डे निरासिए ।

उनले खेलपछि बोल्दै भनेका छन्, ‘म यो कुरामा दुःखी छु कि, हामीले पछिल्लो समय राम्रो नतिजा हाँसिल गर्न सकेका छैनौं । हामीले ४ अवे खेलमा राम्रो नतिजा निकाल्न सकेका छैनौं र २ वटा घरेलु खेलमा मात्र राम्रो नतिजा निकालेका छौं । यसले के प्रष्ट पार्छ भने बार्सिलोना अवे खेलमा जित्न लायक छैन ।’

‘यहाँ केही खेलाडी छन् जो ढिलो आइपुग्छन्,’ उनले थपे, ‘तर, हामी यहाँ राम्रो भएनौं । हामीले अवे खेलमा राम्रो खेल्न सकिरहेका छैनौं । हामी हेपिएका छौं तर, हामीले गोल गर्न लायक मौका पाएका थिएनौं । हामीले खेलमा राम्रो मौका नै पाइरहेका थिएनौं ।’

घरेलु टोलीले खेलको दोस्रो मिनेटमा सुरुआती अग्रता बनाएको थियो । उसका लागि अजीजले गोल गरेका थिए भने उनको गोलमा घरेलु टोलीले पहिला हाफभरि १–० गोलको अग्रता बनाएको थियो । यस्तै खेलको ६६औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको मौका पायो, जसमा भाडिलोले गोल गर्दै टोलीलाई २–० गोलले अग्रता बनाए ।

यस जितसँगै ग्रानडा लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थान बनाएको हो । यता, पराजित टोली बार्सिलोना भने सातौं स्थानमा छ । समान ५ खेलबाट बार्सिलोनासँग ७ अंक छ । लिगको दोस्रो स्थानमा सेभिल्ला छ भने तेस्रोमा एथ्लेटिको, चौथोमा भिल्लारियल र पाँचौ स्थानमा रियल मड्रिड छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।