असोज ५- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद प्रदेश १ को प्रदेशसभा बैठकमा आइतबार मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समिति सभापति सीता थेवेले समितिको प्रतिवेदनसहित विधेयक पेश गरेकी हुन् ।

नेपाली कांग्रेसले भने विधेयक सच्याउन माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेको थियो । कांग्रेस सांसदको नाराबाजीकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पेश गर्न सामाजिक विकास समिति सभापति थेबेलाई समय दिएका थिए ।

सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको छ । कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको हो ।

यसअघि गत सोमबार र मंगलबार पनि कांग्रेसले विधेयक सच्याउन माग गर्दै संसद अवरोध गरेको थियो । कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गरेका थिए । तर यसबीचमा पनि सहमति नभएपछि प्रदेशसभाले कांग्रेसको अवरोधकै बीच विधेयक अघि बढाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।