एजेन्सी, ३० भदौ । मानिसको टाउकोमा सिङ उम्रियो भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर भारतको मध्य प्रदेशस्थित सागर जिल्लामा रहेको रहली गाउँमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा सिंग उम्रेको छ ।

केही वर्षअघि शिरमा चोट लागेपछि सिंग निस्केको यादवले बताए । सिंग उम्रिएपछि केही समय त यादवलाई असहज भयो तर पछि गएर बानी पर्‍यो । उनले सिंग काटे पनि फेरि उम्रिने गरेको थियो । चिकित्सकहरूलाई देखाउँदा कसैले उपचार गर्न सक्दैनौं भने अनि कसैले चाहिँ उपचार महंगो छ भने । अन्ततः सागरको भाग्योदय तीर्थ अस्पतालमा चिकित्सकहरूको टोलीले यादवको टाउकोको सिंग काटेर फाले ।

शल्यक्रिया गर्ने चिकित्सकहरूको टोलीको नेतृत्वकर्ता डा विशाल गजभियेले यादवलाई दुर्लभ सेबासियस होर्न नामक रोग लागेको बताए । त्यसलाई बोलीचालीको भाषामा डेभिल्स होर्न भनिन्छ । सिंग धेरै गहिरो नगाडिएको थाहा पाएपछि शल्यक्रिया गरेको डा गजभियेले बताए ।

केही घन्टाको शल्यक्रियापछि श्यामलाल यादवले सिंगबाट छुटकारा पाए । यस केसलाई इन्टरनेसनल जर्नल अफ सर्जरीमा प्रकाशित गर्नका लागि पठाइने डा. गजभियेले बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।