भदौ २९- खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकुद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकुद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकुद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताए ।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद ऐन छलफलमा रहेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने, “चालू अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरु रिक्त रहन दिँदैनौँ ।” खेलकुद ऐन आएलगत्तै प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशमा सङ्घीय संरचनाअनुसार खेलकुदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेल सङ्घहरु प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको उल्लेख गरे ।
रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।