एजेन्सी,ब्राजिलका स्टार खेलाडी नेयमार जुनियरले बार्सिलोना फर्किने विषयमा मुख खोलेका छन् । हालै मात्र फ्रेन्च लिग वानमार्फत् वर्तमान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को टोलीमा फर्किएका उनले हालै मात्र आफू बार्सिलोना फर्किने विषयमा मुख खोलेका हुन् ।

नेयमार पछिल्लो समय ला लिगा क्लब जाने चर्चामा थिए । सन् २०१७ मा कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका उनी पुनः क्याप नोउ फर्किने चर्चा थियो । पीएसजीमा छँदा अधिकाशं खेलमा घाइते भइ अपेच्छाअनुरुपको प्रदर्शन गर्न नसकेका उनले क्लब छोड्ने मनसाय नै बनाएको बताइन्छ ।

२७ वर्षीय नेयमारले यो सिजनको लिग वानमा पीएसजीका पाँच खेल गुमाएका थिए । सरुवाको विषयमा अन्यौलता एवं घाइते अवस्थामै रहेका कारण उनले पीएसजीका पाँच खेल खेलेनन् । त्यसअघि प्रि–सिजनअन्तर्गतका खेल पनि उनले खेलेका थिएनन् । तर, उनले शनिबारबाट पुनः लिग वान खेले । पीएसजीको पाँचौं खेलमा नेयमारले नै क्लबको उद्धार गरे ।

शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रास्बर्गमाथि १–० गोलको कठिन जित निकाल्दा उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । पीएसजीको घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन नेयमारले ९२औं मिनेटमा गोल गर्दै पीएसजीलाई ३ अंक दिलाए । उनले पीएसजीलाई १२ अंक बनाउन मद्दत गरे ।

तर, उक्त खेलमा घरेलु दर्शकले नेयमारविरुद्ध पुनः नाराबाजी गरेका थिए । उक्त खेलपछि नेयमारले आफ्नो सरुवाको विषयमा पनि मुख खोले । उनले पत्रकार सम्मलेनमा भने, ‘जब सरुवाको विषयमा बन्द भयो मैले आफ्नो ध्यान पुनः पीएसजीमै लगाएको छु । र, मैले सधैं यहाँ बस्ने मनसाय बनाएको छु । भाग्यबस मैले बिताएका यी दुई वर्षमा म धेरै घाइते भएँ र धेरै खेल गुमाएँ । यसमा म धेरै दुखी छु ।’

‘तर, जब म मैदानमा हुन्छु, मलाई आफूप्रति गर्व महसूस हुन्छ’, उनले थपे, ‘मेरो भविष्य यहीँ उज्वल छ । तपाईं मेरो तथ्यांकलाई हेर्न सक्नुहुन्छ, मैले राम्रो नै गरेको छु । म पीएसजीबाट खेल्दा मलाई लाग्छ म मेरो क्लबलाई र मेरा सहकर्मीलाई सहयोग गर्न सक्छु ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।