हेटौंडा २६ भदौ,एडिज इजीप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका विरामी देशभर बढिरहेका छन् ।

प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले प्रदेश तीनमा हालसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखा परेको जनाएको छ । हाल सम्म प्रदेशका १३ वटा जिल्लामा चार हजार जनाको हाराहारीमा डेंगुका बिरामी फेला परेको जनाएको छ ।

१३ जिल्ला मध्यमा सबै भन्दा बढि चितवनमा एक हजार ४ सय ६० जना बिरामी फेला परेका छन् भने मकवानपुरमा ७ सय २८ जनामा फेला परेको जनाईएको छ । यस्तै काठमाण्डौमा १ हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्य जिल्लामा भने यी जिल्लाको तुलनामा थोरै मात्र बिरामी फेला परेका छन् । दोलखा, रामेछाप, सिन्धुली र रसुवा जिल्लामा डेँगुका विरामी नरहेको मन्त्रालयले जनाएका छ ।

कसरी लाग्छ डेंगु ?

एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्त ठाउहरुमा यो लामखुट्टेले अण्डा पार्दछ ।

यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र साझपख मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन ।

लक्षण :
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ। ज्वरोका साथै निम्न लक्षणहरू प्नि देखापर्छन्।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसपेसी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्नसक्छ ।

बच्ने उपाय :
– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानि जम्न नदिने।
– पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने।
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
– फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ।
– घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।
– घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।