सांकेतिक तस्वीर

हेटौंडा २५ भदौ,मकवानपुरमा एक वर्षमा १ सय ५८ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यलय अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा जिल्ला भर १ सय ५८ जनाले आत्महत्या गरेर ज्यान गुमाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय अनुसार श्रावण महिनामा १३ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन । भने भदौ महिनामा १० जना यस्तै क्रमश असोज,कार्तिक,मगंसिर,पुष,माघ,फागुन,चैत,बैशाख,जेठ र असार महिनामा गरि क्रमश १४ जना,२२ जना,१२ जना,१६ जना,१० जना,८ जना,१६ जना,१५ जना,११ जना र ११ जनाले आत्महत्या गरेर आफ्नो ज्यान गुमाएका छन् ।

के हो आत्महत्या ?

आफैले आफूलाई हानी गर्ने र आफ्नै ज्यान लिनुको रुप आत्महत्या हो । आत्महत्या सरुवा होइन र यसलाई रोक्न सकिन्छ । यसका लागि सचेतना आवश्यक छ र आफैलाई हानी गर्न उक्साउने वातावरणलाई हटाउनु पर्ने मनोविमर्शकर्ता बताउँछन् । प्रायः आत्महत्या तत्कालको निर्णयबाट नभइ लामो सोच र तयारीपछि मात्रै हुने गरेको छ । आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग गरेमा उनीहरुको जीवन रक्षा गर्न सकिने मनोविमर्शकर्ताले बताउने गरेका छन् ।

आत्महत्याको सोच बनाएको व्यक्तिले सहयोगका लागि गुहार नलगाउने भएकाले उसको नजिकका व्यक्तिले बुझेर सहयोग गर्नु पर्ने हुन्छ । आत्महत्याको सोच बनाएकाहरुले सहयोग चाहन्छन् तर त्यसका लागि तत्परता भने देखाउँदैनन् । आफ्नै ज्यान लिने व्यक्तिहरु मर्न चाहेका हुँदैनन्, मात्रै उनीहरु पीडाबाट मुक्ति चाहन्छन् ।

यस्तोमा उनीहरुको पीडा हटाउने विकल्प खोज्नमा सहयोग गरेमा आत्महत्या रोक्न सकिन्छ। आफूले चिने जानेका साथी वा परिवारका सदस्यमा आत्महत्याको सोच आएको थाहा पाएमा त्यसबारे कुरा गर्न हिचकिचाउने बानी रहेको छ । तर यसबारे कुरा गरेमा धेरै समस्या समाधान हुने साइकोलोजिस्टहरुको भनाई छ ।

व्यक्तिले अरु कुनै विकल्प नदेखेपछि अन्तिम विकल्पको रुपमा आत्महत्यालाई रोज्ने गरेका छन् । आत्महत्याको सोच आएका व्यक्तिलाई साथी, परिवार र समाजका व्यक्तिले आशको अलिकति उज्यालो मात्रै देखाउन सके आफ्नै ज्यान लिने विचार त्याग्छन् । समस्याबाट भाग्ने निराशाजनक विकल्पका आत्महत्या भएकाले व्यक्तिलाई समस्या समाधानको सकारात्मक विकल्पको खोजी गर्न सहयोग गरेमा आत्महत्या रोक्न सकिन्छ ।

आत्महत्या गर्न चाहने व्यक्तिले केही न केही छनक दिने भएकाले त्यसलाई बुझेर समयमै निराकरणको उपाय अपनाउनु पर्ने हुन्छ । आत्महत्या एकमात्रै नभइ जैविक, मानसिक र सामाजिक कारणले हुने गरेका छन् । दीर्घरोग, वंशाणुगत कारण, मानसिक रोग, डिप्रेशन, चिन्ता, गरिबी, बेरोजगारी, सपनाको बाटोमा अवरोधसहितका कारणले आत्महत्या हुने गरेको छ । यस्तै व्यक्तिको विचार, सोचाइ, सिकाईसहितले पनि आत्महत्याको जोखिम कस्तो छ भन्ने देखाउँछ ।

आत्महत्याका संकेतहरु
आत्महत्या गर्न चाहने व्यक्तिले जहिले पनि केही न केही संकेत दिएको हुन्छ । उसको नजिक रहेका व्यक्तिहरुले त्यस्ता संकेतलाई बुझेर सहयोग गरेमा आत्महत्या रोकिन्छ ।

आत्महत्याको सोच आएका व्यक्तिले बारम्बार मर्ने बारे बोल्ने गरेका हुन्छन् । यस्तै हानी गर्ने खालका सामग्रीहरुको खोजी पनि उनीहरुले गर्ने गरेका हुन्छन् । उनीहरुमा मृत्युमा गहिरो लगाब देखिन्छ । भविष्यबारे आशावादी कुरा नगर्ने, आफूलाई मन नपराउने वा आफैलाई घृणा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्यबाट बाहिर जाने, बिदाईका कुरा गर्ने तथा अप्रत्यासित रुपमा शान्त हुनेसहितका लक्ष्यणहरु देखिन्छन् । यस्तो देखिएमा उनीहरुलाई सहयोग गनुपर्ने मनोविमर्शकर्ताले बताएका छन् ।

आत्महत्याको सुरक्षा
आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग सबैभन्दा खाँचो पर्ने विषय हो । त्यस्ता व्यक्तिले आफैले सहयोगको याचना नगरे पनि सहयोगको आश भने गरेका हुन्छन् । यस कारणले नजिकका साथी, परिवारका सदस्य तथा वरपरका व्यक्तिले सहयोगका लागि पहल गर्नुपर्छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।