
भदौ २२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँग हुनैलागेको शान्ति सम्झौताको कार्यक्रम अन्ततः रद्द गरेका छन्। ट्रम्पले आइतबार बिहानै एक ट्विट गर्दै सम्झौता रद्द गर्नुपरेको बताएका हुन्।
ट्विटमा ट्रम्पले भनेअनुसार अफगान राष्ट्रपति असरफ घानी र तालिवानी उच्चस्तरीय नेताहरु अमेरिका आउने तरखरमा थिए। मेरिल्यान्डको क्याम्प डेभिडमा शान्ति सम्झौताको कार्यक्रम राखिएको थियो। तर शान्ति वार्ता चलिरहँदा समेत तालिवानले युद्धविराम नगरी काबुलमा विस्फोट गराएको र त्यसमा एक जना अमेरिकी सेना समेत परेको घटनाले आफू दुःखी भएको ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले शान्तिवार्ताकै क्रममा हिंसालाई जारी राख्नेसँग सम्झौता गर्न नसकिने बताए।
ट्रम्पले तालिवानसँग वार्ता गर्न जाल्मे खालिजादलाई जिम्मेवारी दिएका थिए। सैद्धान्तिक रुपमा अमेरिका र तालिवानले सहमतिमा पुगेको बताएका थिए। कतारको दोहामा अमेरिकी विशेषदूत र तालिवानबीच सहमति भएको थियो। तालिवानसँग भएको भनिएको सैद्धान्तिक सहमतिमा अमेरिकाले ५ हजार ४ सय अमेरिकी सेना अफगानिस्तानबाट २० हप्ताभित्र फिर्ता गर्ने उल्लेख छ। अफगानिस्तानमा अहिले पनि १४ हजार अमेरिकी सेना रहेका छन्।
गत बिहीबार काबुलमा कारबम आक्रमण भएको थियो, जहाँ १२ जनाको मृत्यु भएको थियो। त्यसमा एक जना अमेरिकी सेना परेका थिए। सन् २००१ मा अमेरिकी सेना अफगानिस्तान पुगेका थिए। अफगानिस्तानमा संयुक्त राष्ट्रसंघले तयार गरेको एक रिपोर्टअनुसार ३२ हजार नागरिकको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्