मनहरी,नेपाली काँग्रेसका क्षेत्रीय स्तरका नेता चतुर्भुज न्यौपानेले आत्महत्या गरेका छन् । मनहरी गाउँपालिका १ मकरीका स्थायी बासिन्दा न्यौपानेले बुधवार साँझ घरमै बिष सेवन गरेका थिए । बिष सेवन गरेका उनको बिहिबार साँझ चितवनको भरतपुरमा निधन भएको नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस ४ नं क्षेत्रीय समितिका सदस्य रहेका न्यौपानेले बिष सेवन गर्नुअघि सुसाइड नोट छाडेको नेपाली काँग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीले जानकारी दिए । सुसाइड नोटमा आफ्नो घरपरिवार, ऋण लगायत सामाजिक र राजनीतिक बिषयमा टिप्पणी रहेको संयोजक पराजुलीले बताए । सुसाइड नोटमा उनले आफूले निरन्तर पाँचबर्ष मकरी बृहद् खानेपानीको अध्यक्ष भई निस्वार्थभावले काम गरेको उल्लेख गर्दै काम सम्पन्न गरी उद्घाटन गर्न आफूले नभ्याएको लेखेका छन् ।

त्यसैगरी उनले आफू र आफ्नो परिवारभन्दा नेपाली काँग्रेस ठूलो भएको भन्दै पार्टीले नै आफ्नो अन्त्येष्टि गरोस् भन्ने आशय सुसाइड नोटमा ब्यक्त गरेको पाइएको छ । ‘मेरो अन्त्येष्टि परिवारले भन्दा पनि काँग्रेसका नेता भरत पराजुलीले गरोस्, काँग्रेसभन्दा ठूलो घर परिवार होइन’ भन्ने हिसावले सुसाइड नोट लेखेर उनले बिष सेवन गरेको पाइएको संयोजक पराजुलीले जानकारी दिए ।

घरमा भएको सामान्य विवादका कारण बिष सेवन गरेको पाइएको छ । उनको शुक्रबार दिउँसो हेटौँडास्थित राप्तीतटमा अन्त्येष्टि गरिएको छ । उनको शवमा ३ नं प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एबम् काँग्रेस जिल्ला सभापति इन्द्रबहादुर बानियाँले चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । उनी स्थानीय सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहने गर्दथे भने सामाजिक कामहरुमा सदैव चासो व्यक्त गर्थे । नेपाली काँग्रेस क्षेत्रीय समिति सचिवमा पराजित भएपछि उनलाई पार्टीले क्षेत्रीय सदस्यमा मनोनीत गरेको थियो । मनहरीलाइभ बाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।