स्पेनिस ला लिगामा साबिकको विजेता बार्सिलोनाले शानदार जित निकालेको छ । अघिल्लो सिजनको शीर्ष टोली बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसविरुद्ध ५–२ गोलअन्तरको शानदार जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन एन्टोइन ग्रिजम्यानले दुई गोल गरे भने कार्लेस परेज, जोर्डी अल्बा, अर्टुरो भिडालले समान एक–एक गोल गरे । यता, पराजित टोली बेटिसका लागि नाबिल फेकिर र लोरेन्जो जेसस मोरोन गार्सियाले समान एक–एक गोल फर्काए ।

बार्सिलोनाले पाहुना टोलीको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । पाहुना टोलीले खेलको १५औं मिनेटमा फेकिरको गोलमा अग्रता बनाएको थियो । तर, खेलको ४१औं मिनेटमा हालै मात्र एथ्लेटिको मड्रिडबाट क्याप नोउ आएका ग्रिजम्यानले गोल गरे । उनले सर्जियो रोबर्टोको पासमा गोल गर्दै पहिलो हाफभरि बार्सिलोनालाई बराबरीमा फर्काएका थिए । यस्तै खेलको ५०औं मिनेटमा ग्रिजम्यानले दोस्रो गोल गर्दै क्लबलाई २–१ गोलले अगाडि बढाए । ग्रिजम्यानले फेरि पनि रोबर्टोकै असिस्टमा गोल गरेका थिए । खेलको ५६औं मिनेटमा बार्सिलोनाले ३–१ गोलको अग्रता बनायो । घरेलु टोलीका लागि तेस्रो गोल कार्लेस पेरेजले गरेका थिए । पेरेजले नेल्शन सेमेडोको पासमा गोल गरेका थिए ।

पेरेजले गोल गरेको चार मिनेट नबित्दै अल्बाले गोल गरे । अल्बाले खेलको ६०औं मिनेटमा सर्जियो बस्क्युटोको पासमा गोल गर्दै बार्सिलोनालाई ४–१ गोलले अगाडि बढाएका थिए । यस्तै खेलको ७७औं मिनेटमा भिडालले गोल गरेका थिए । उनले ग्रिजम्यानको पासमा गोल गर्दै घरेलु टोलीलाई ४–१ गोलको अग्रता दिलाएका थिए । तर, त्यसको २ मिनेट नबित्दै पाहुना टोलीले गोल गर्यो । उसका लागि खेलको ७९औं मिनेटमा गार्सियाले गोल गर्दै टोलीलाई खेलमा फर्काउन कोसिस गरे । तर, बाँकी समयमा गोल गर्न नसकेपछि उनको कोसिस बिफल बयो । र, बार्सिलोनाले आफ्नै मैदानमा ५–२ गोलको शानदार जित निकाल्यो । यस जितसँगै बार्सिलोनाले नवौं स्थान बनाएको छ । यसअघि १८औं स्थानमा रहेको उसले २ खेलबाट ३ अंक बनाएको छ । उसले पहिलो खेलमा भने हार ब्यहोरेको थियो । नयाँ सिजनको ला लिगाको उद्धाटन खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।