भदौ ७- नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ। माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ।

तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ। ती आयोजनाको कूल क्षमता दुई हजार एक सय २४ मेगावाट रहेको छ। प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाको रुपमा समेत लिएको छ।

प्राधिकरणले ती आयोजना भने जनताको लगानीसमेत रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरेको छ। सहायक कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको प्राधिकरणले आगामी दिनमा पनि सोही रणनीतिका आधारमा परियोजना निर्माण गर्ने भएको छ। रुग्ण आयोजना पालेर बसेको, नयाँ आयोजना नभएको, विद्युत् उत्पादन भन्दा पनि बिक्री वितरणमा मात्रै सीमित भएको भन्ने जस्ता आलोचना खेपिरहेको प्राधिकरणले नयाँ आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको हो। आगामी चैत मसान्तसम्म हालसम्मकै ठूलो आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण सम्पन्न हुनेछ।

कालीगण्डकी निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्न हुन लागेको ४५६ मेगावाट क्षमताको आयोजनाले आर्थिक समृद्धिको पक्षमा समेत ठूलो र महत्वपूर्ण स्थान राख्नेछ। सोही कम्पनीले नै दोलखाको रोल्वालिङ खोलामा २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ। सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारीको क्रममा रहेको छ। आयोजनाको बोलपत्र दस्तावेज तयार पार्ने क्रम अन्तिम चरणमा रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् कम्पनीले प्रवद्र्धन गर्न लागेको १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको काम शुरु भएको छ। अर्धजलाशयुक्त आयोजनाको रुपमा रहेको तनहुँ सेती आयोजनाले २२० केभी क्षमताको प्रसारणलाइन निर्माण तथा विद्युत् गृह एवं हेडरेस टनेलको काम अघि बढेको छ।

यस्तै सोही आयोजनाले १०४ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पनि विस्तृत इञ्जिनीयरिङ डिजाइन गर्ने काम समेत प्रारम्भ भएको छ। यस्तै प्राधिकरणले सहायक कम्पनीमार्फत ३० मेगावाट क्षमताको इखुवा खोला जलविद्युत् आयोजना पनि निर्माणमा जाने तयारी गरेको छ। प्राधिकरणले गेम चेन्जर परियोजनाका रुपमा १०६० मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। अपर अरुण हाइड्रोइलेक्ट्रिक कम्पनीले प्रवद्र्धन गर्ने सो आयोजनाको हाल विस्तृत इञ्जिनीयरिङ डिजाइन र बोलपत्र तयार पार्ने काम परामर्शदाताले गरिरहेको छ।

त्यस्तै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य समेत समानान्तर रुपमा अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ। विश्व बैंकको अगुवाइमा अन्य दातृ निकायले सो आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले समेत प्राथमिकता प्राप्त आयोजनाका रुपमा अगाडि बढाउने सोच राखेको छ।

यस्तै, जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी आयोजनाको निर्माण कार्य जारी छ। आयोजनामा नेपाली नागरिकबाट समेत लगानी जुटाइसकिएको छ। म्याग्दीमा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको रघुगङ्गा आयोजनाको समेत निर्माण शुरु भइसकेको छ।

मेघा परियोजना अगाडि बढाउने लक्ष्यमा अगाडि बढेको प्राधिकरणले ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजनाको समेत हाल विस्तृत इञ्जिनीयरिङ डिजाइन तथा बोलपत्रको कागजात तयार पार्ने काम जारी छ। सो कार्य सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। एशियाली विकास बैंकले आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजनालाई प्राथमिकतामा राखिएकाले प्राविधिक तयारी पूरा भएपछि निर्माणमा लैजाने तयारी गरिएको छ।

प्राधिकरणका कर्मचारीको शेयरमा आयोजना

प्राधिकरणका कर्मचारीको शेयरमा जलविद्युत् आयोजना निर्माण गर्ने क्रमसमेत शुरु भएको छ। प्राधिकरणमा हाल करीब १० हजार कर्मचारी कार्यरत छन्। उनीहरुको शेयर लगानीमा आयोजना निर्माण गर्ने लक्ष्यका साथ दुई वटा आयोजना तयारी हालतमा रहेको छ। कूल ४२ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजना र १८।२ मेगावाट क्षमताको मोदी ए आयोजना सोही ढाँचामा अगाडि बढाउने तयारी गरिएको छ।

ती आयोजनाको विस्तृत इञ्जिनीयरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भएको छ। ती आयोजनामा लगानीका लागि आवश्यक ढाँचा तथा प्रक्रिया समेत शुरु भइसकेको छ। प्राधिकरणमा कार्यरत कर्मचारीको मागका आधारमा नै ती दुई आयोजना निर्माणमा लैजाने तयारी गरिएको हो।

तामाकोशी पाँचौको युद्धस्तरमा तयारी

यस्तै प्राधिकरणले तामाकोशी पाँचौको युद्धस्तरमा तयारी गरेको छ। कूल १०० मेगावाट क्षमताको सो आयोजना माथिल्लो तामाकोशीको क्यासकेड आयोजनाका रुपमा रहेको छ। माथिल्लो तामाकोशीको टेलरेसबाट निस्केको पानीलाई आठ किलोमिटर भन्दा लामो सुरुङमा हालेर विद्युत् उत्पादन गर्ने योजनामा प्राधिकरण लागेको छ। यद्यपि माथिल्लो तामाकोशीको ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले भने आयोजना माथिल्लो तामाकोशीलाई नै दिँदा उपयुक्त हुने सुझाव दिएको छ।

आयोजनाको विस्तृत डिजाइन तथा बोलपत्र तयार पार्ने काम सम्पन्न भइसकेको छ। आयोजनामा चिनियाँ स्वामित्वको एशियन इन्फास्टकचर बैंकको अगुवाइमा ऋण लगानी गर्ने प्रतिबद्धता प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही ठूला आयोजना निर्माण शुरु गर्ने तयारीमा आफूहरु पुगेको बताए।

विगतमा समस्यामा परेका आयोजना सम्पन्न भइसकेका अवस्थामा नयाँ आयोजनाको खोजी भइरहेको उनको भनाइ छ। त्यसो त सरकारले जनताको लगानीमा तीन हजार ५०० मेगावाट क्षमताको आयोजनाको समेत प्रक्रिया शुरु गरिसकेको छ। त्यसमध्ये माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री भइसकेको छ।रमेश लम्साल


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।