सांकेतिक तस्बिर

साउन ३०– विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् ।

नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३/७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४/७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा। डा। सरोजप्रसाद ओझाले मनोवैज्ञानिक तथा सामाजिक दुई प्रमुख कारणबाट मानिसले आत्महत्याको निर्णयसम्म पुग्ने गरेको बताए । उनले समाजमा आफ्नो प्रतिष्ठामा कतै आँच आएको महसुस हुँदासमेत मानिसले आत्महत्याको निर्णयमा पुग्ने गरेको जानकारी दिए ।

पछिल्लो समय राजनीतिक, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्धविच्छेद, बढी मादकपदार्थ सेवन, बेरोजगारी समस्या तथा छिट्टै आवेशमा आउने कारण मानिसले आत्महत्या रोज्ने गरेको देखिएको उनले जनाए । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।