file photo

साउन ३०- निकै लामो प्रयासपछि सरकारले जापान जाने नेपाली कामदारका लागि लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ । पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा आइपर्ने विविध प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । मन्त्रालयका रोजगार समन्वय महाशाखाका सहसचिव उमेश ढुंगानाले सोही छलफलका आधारमा भाषा परीक्षा र सीप परीक्षणको मिति टुंगो लागेको जानकारी दिए ।

उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने बताए । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि जापान जान पाउनेछन् ।

नेपाल र जापान सरकारबीच भएको समझदारीमा पारित मस्यौदाअनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा उत्तीर्र्ण गर्नुपर्ने उल्लेख छ । यसैगरी, कामदारले एकपटक जापानी भाषा परीक्षा उत्तीर्ण गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।

नेपाली कामदार छनोट तथा भर्ना प्रक्रियाका लागि जापानले प्रो–म्याट्रिक कम्पनीलाई जिम्मा दिने छ । भाषा परीक्षा र सीप परीक्षणका लागि जापानबाट नै प्रतिनिधि टोली आउने मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।