file photo

साउन २८- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विदेशी लगानी नआए स्वदेशी लगानीमा भए पनि बनाउने संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रतिबद्धता जनाएका छन् ।

विमानस्थल निर्माण गर्ने चर्चा चलेको २४ वर्ष पुगिसकेको बताउँदै भट्टराईले आफ्नो पालामा जग हाल्ने बताएका हुन् । उनले बारामा निर्माणाधीन निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिरभित्रै शिलान्यास गरी निर्माण कार्य अगाडि बढाउने बताएका हुन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मङ्गलबार आफ्नो धारणा राख्दै मन्त्री भट्टराईले निजगढमा देखिएका समस्या सर्वदलीय र सर्वपक्षीय सहमतिबाट टुङ्गोमा पुर्याउने बताए ।

विमानस्थलमा लगानीका लागि लगानी बोर्डसँग तत्कालै छलफल गर्ने र विदेशी लगानी नआए नेपालकै स्रोतबाट काम अगाडि बढाउने उनको भनाइ छ । रुख कटानका विषयमा उनले बुधबार वन मन्त्रालयसँग छलफल गर्ने तयारी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले रुख कटानको विषय अगाडि बढ्न नसकेको बताए । समितिले गत असोज १३ गते विमानस्थल निर्माणस्थलको निरीक्षण पनि गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।