पूर्वसभासद गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोम(जीउ नचल्ने) समस्या देखिएको भन्दै साह दम्पत्तीले बच्चा लिन अस्वीकार गर्‍यो । अस्पतालमा शिशु छाडेको पाँच महिना भयो । बच्चा त्यागेको घोषणा पनि गरेका छैनन् ।

अभिभावकत्व कसले ग्रहण गर्ने भन्ने अन्योल भएको छ । मेडिसिटी अस्पतालका डा.विजय रिमालले बच्चाको अवस्था सुधार भई घर लैजान मिल्ने रहेको बताए ।  ‘बच्चाको अवस्था एकदम राम्रो छ तर बाबुआमाले वेवास्ता गर्दा समस्या भएको छ, उनले भने, ‘उसको शारीरिक परिवर्तन अन्य बच्चाको जस्तै देखिएको छ । शरीरको तौल पनि सामान्य बच्चाको जस्तै बढेको छ ।’

घर जान नपाएका कारण बच्चाको मानवअधिकार हनन् भएको उनले बताए । उनका अनुसार आमाले वेवास्ता गरेपछि नर्सलाई आमाजस्तै मान्न थालेको प्रतिक्रिया दिए । बच्चामा कुनै जटिलता नभएको भन्दै अस्पतालले पटक पटक घर लैजान आग्रह गर्दै आएको छ ।

बच्चाकी आमा साह कहिले राति र कहिले बिहान आएर भेटेर फर्कने गरेको नर्सहरु बताउँछन् ‘उहाँ आएर सीसी क्यामेरा अगाडी उभिनुहुन्छ । माया गरेजस्तो पनि गर्नुहुन्छ । जिम्मा लिने चासो भने देखाउनु हुन्न’, एक नर्सले भनिन, ‘देखावटी जस्तो देखिन्छ । जन्म दिने आमालाई मातृवात्सल्य भाव देखिनुपर्ने हो तर कुनै आभास छैन । हामीले सबै काम गरिदिनुपरेको छ ।’ ती नर्सले साहको व्यवहार देखेर छक्क परेको बताइन । -अन्नपूर्णपोष्ट दैनिकबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।