file photo

२६ साउन,राष्ट्रियसभामा सांसद रामनारायण बिडारीले मान्छेले वन्यजन्तु मारेमा २० वर्ष कैद गर्ने व्यवस्था भएको उल्लेख गर्दै वन्यजन्तुका कारण मानिसको मृत्यु हुदाँ चाहिँ के गर्ने भन्ने प्रश्न उठाएका छन् ।  वन्यजन्तु र वनजंगल संरक्षण सम्बन्धी विद्यमान कानुनप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, ‘मान्छेलाई शिकार गराएर वन्यजन्तु पाल्ने नीति लिने ठीक हो कि मान्छेको पनि संरक्षण गर्नुपर्ने हो ? मान्छेले वन्यजन्तु मारेमा २० वर्ष कैद गर्ने अनि बन्यजन्तुका कारण मानिसको मृत्यु हुँदा के गर्ने ?’

मध्यवर्ती क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभुति दिन सरकारसँग माग गर्दै प्रश्न गरे, ‘रुखका लागि मान्छे कि मान्छेका लागि रुख ? मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे ? मान्छेलाई वन्यजन्तुको आहारा बनाउने हो ?’

वन्यजन्तु मार्दा राज्यको कानुनले जेल चलान गर्ने र नमार्दा आफ्नै ज्यान संकटमा पर्ने  जोखिम पुर्ण अवस्थामा मध्यवर्ती क्षेत्रका बासिन्दा रहेको भन्दै उनले उपयुक्त ढंगले सुरक्षाको वन्दोबस्त मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

मान्छे र वन्यजन्तु दुवैको संरक्षण गर्नुपर्ने दायित्व सरकारको भए पनि वन्यजन्तुको मात्रै संरक्षण गर्ने गरेको आरोप पनि लगाए । सत्तापक्षका सांसद् बिडारीले भने, ‘गरिबलाई न्युनतम आवश्यकताका लागि बासस्थान बनाउन प्रयोग गर्न नपाउने जंगल र रुख रातारात विदेश तस्करी भइरहेको छ । हरियो वन नेपालको धन भन्ने स्पष्ट नीति बनाउनुपर्छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।