file photo

एजेन्सी,स्पेनिस क्लब रियल मड्रिडले आफ्ना फरवार्ड ग्यारेथ बेललाई रोमाविरुद्धको टोलीमा राखेको छ । वेल्सका स्टार बेललाई आज हुने रोमाविरुद्धको प्रारम्भिक खेलाडीको सूचमिा समेटेको हो ।

बेल पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाइमा पर्न संघर्षरत थिए । चिनियाँ क्लब जाने चर्चापछि उनी पहिलोपटक रियलको टोलीमा परेका हुन् । बेल चिनियाँ क्लब जियाङ्सु सुनिङ जाने चर्चामा थिए । अघिल्लो महिना नै चीन जाने चर्चा चलेपनि बेलको सम्झौता रद्द भएको थियो ।

बेलले यसअघि प्रि–सिजनका छमध्ये एक खेलमा मात्र मौका पाएका थिए । जसमा रियलले जित निकालेको थियो । यसअघि रियलले बायर्न म्युनिख, आर्सनल, एथ्लेटिको मड्रिड, टोटनह्याम, फेनेरबेक र साल्जबर्गसँग खेलेको थियो । त्यसमध्ये बेलले आर्सनलसँगको खेलमा मौका पाएको थियो ।

अब भने उनी इटालियन क्लब रोमाविरुद्धको खेलका लागि रियलको टोलीमा परेका छन् । रियलले रोमाविरुद्धको खेलमा बेलसँगै टोनी क्रुस, लुका मोड्रिक, इडेन हाजार्ड, करिम बेन्जेमा, भिनिसियस जुनियर, इस्को, भरानो, नाचो, मार्सेलोलाई टोलीमा राखेको छ । रियलले आज रोमासँग खेल्दैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रियलले रोमासँग खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ । इटालीमै हुने यस खेलमा दुवै टोली जित निकाल्ने दाउमा मैदान उत्रिनेछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।