हेटौँडा,२६, साउन ।
डिभिजन सडक कार्यालय हेटौँडाले २५ मिटर सम्वन्धी मुख्यमन्त्री डोरमणी पौडेलको अभिब्यक्तिले २५ मिटर फराकिलो पार्ने अभियानलाई कुनै असर नगर्ने बताएको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले आज जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा हेटौँडामा २५ मिटर नभत्कने, १६ मिटर मात्र भत्कने अभिब्यक्ति दिएपछि डिभिजन सडक कार्यालयले यस्तो प्रतिक्रिया दिएको हो ।
मुख्यमन्त्रीको अभिब्यक्तिपछि खबरब्रेकले डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीसँग प्रतिक्रिया लिदा उनले मुख्यमन्त्रीको अभिब्यक्तिले २५ मिटर विस्तार अभियानमा धक्का नलाग्ने बताए ।

उनले भने “मुख्यमन्त्री ज्युले भनेको भाषणको कारण २५ मिटर अभियानामा कुनै पनि असर गर्दैन, हाईवे भनेको केन्द्र सरकारको मातहतमा छ, हामी केन्द्रीय सरकारको मातहतको निकाय भएकोले केन्द्रको निर्देशनलाई मान्ने हो, २५ मिटर अभियान जारी रहन्छ ।”

अधिकारीले हेटौँडामा स्टे अर्डरको कारण मात्र फराकिलो पार्ने काम रोकिएको भन्दै त्यो समस्या पनि चाँडै समधान हुनेमा आफु विश्वस्त रहेको बताए । प्रदेश सरकारले केन्द्र सरकारलाई १६ मिटरबारे अनुरोधपत्र दिएको भन्ने आफुले सुनेको भएपनि उक्त विषयमा हालसम्म निर्णय भैनसकेको उनले बताए ।

गत असार २३ गतेबाट डिभिजन सडक कार्यालय हेटौँडाले आफ्नो कार्यक्षेत्रमा पर्ने हाईवेमा २५ मिटर फराकिलो पार्ने अभियान सुरु गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।