file photo

हेटौँडा,२५ साउन ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राजधानीको विषयमा शुक्रबार दिएको अभिब्यक्तिको कारण हेटौँडामा आक्रोश छाएको छ । सामजिक सञ्जालमा शुक्रबार मुख्यमन्त्रीको अभिब्यक्ति आउने वित्तिकै कडा टिकाटिप्पणी सुरु भएको हो ।

प्रदेशको स्थायी राजधानी हेटौँडालाई बनाउनुपर्ने विषयमा हेटौँडामा विभिन्न समुह, राजनीतिक दलहरु समेत ऐकेवद्ध रहेको अवस्थामा मुख्यमन्त्री पौडेलले “राजधानी हेटौँडा नै हुनुपर्छ भन्ने छैन, नुवाकोट पनि हुनसक्छ” भन्ने अभिब्यक्ति दिएपछि यस्तो आक्रोश छाएको हो ।
पौडेलले नेपालको केन्द्रीय राजधानी वरिपरि वा केन्द्रीय राजधानी काठमाण्डौँको छायामा प्रदेशको राजधानी हुन नहुने कोणबाट उक्त अभिब्यक्ति दिएको भएपनि हेटौँडानै हुनुपर्छ भन्ने छैन भन्ने शब्दबाट राजधानी सर्ने हो कि भन्ने शंका उत्पन्न भएको भन्दै स्थानीयहरुले सामजिक सञ्जाल मार्फत मुख्यमन्त्रीको कडा टिप्पणी गरेका छन् ।

हेटौँडाबाटै प्रदेश सांसदमा विजयी भएर मुख्यमन्त्री बनेका पौडेलले राजधनीको विषयमा हेटौँडा बाहेकको अन्य क्षेत्रलाई सहयोग हुने शब्द प्रयोग गर्न हुदैनथ्यो भन्दै फेसबुकमा रामकार केसीले लेखेका छन् ।
यसैगरी विनोद कुँबरले भनेका छन : हेटौँडाकै नेता भएर हेटौँडा हुनुपर्छ भन्ने छैन भन्नु जनभावना विपरित हो, यो कुराको हामी कदापी पनि समर्थन गर्दैनौ ।

पछिल्लो समय मुख्यमन्त्री पौडेल विभिन्न अभिब्यक्ति तथा निर्णयको कारण विवादमा आउने गरेका छन् । सरकारले ल्याएका केहि विधेयक, उनले हेटौँडाको सन्दर्भमा गरेका केहि निर्णयको कारण मुख्यमन्त्री विवादमा परिरहेको अवस्थामा उनले यस्तो अभिब्यक्ति दिएपछि उनी थप विवादीत बनेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।