साउन २५- भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् ।

बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ ।

केरलामा शनिबारपछि पनि बर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमानपछि केरलाका ग्रामिण वस्तीहरूमा सैनिकका विभिन्न समूहहरूलाई उद्धार इकाई बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टरहरूको पनि परिचालन गर्न सरकारले निर्देशन दिएको छ ।

“केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ । केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू पनि बाढीका कारण सडकहरू अवरूद्ध बन्दा बाढी प्रभावित क्षेत्रमा फसेका बताइएको छ,” प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपीलाई बताए ।

केरलाको छिमेकी कर्नाटक राज्यमा पनि बर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने नौ जना वेपत्ता भएका छन् । भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि बार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन् । कर्नाटकमा विभिन्न ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस पुगेका बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले बर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन् । यस्तै गुजरातका अहमेदावाद र नादिआवादमा पनि बर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।