एजेन्सी,हालै मात्र इंग्लिस क्लब चेल्सीबाट इटालियन क्लब युभेन्टस गएका प्रशिक्षक मौजिरियो सार्रीले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको प्रसंशा गरेका छन् । इंग्लिस क्लब टोटनह्यामसँग खेलअगाडि पत्रकार सम्मेलनमा बोल्दै सार्रीले पोर्चुगलका स्टार खेलाडी रोनाल्डोको तारिफ गरेका हुन् ।

इन्टर नेशनल च्याम्पियन्स कपअन्तर्गत आज युभेन्टसले टोटनह्यामसँग खेल्दैछ । नेपाली समयअनुसार साँझ ५ः१५ मिनेटदेखि सुरु हुने उक्त खेल सिंगापुरको नेशनल स्टेडियममा हुनेछ । यस खेलका लागि युभेन्टसले रोनाल्डोका साथै नयाँ दुई खेलाडीलाई प्रारम्भिक टोलीमा राखेको छ । डच क्बल आयाक्सबाट आएका माथिस डी लिग्ट र पेरिस सेन्ट जर्मेन पीएसजीबाट बुफोनलाई पनि टोलीमा राखेको छ । तर, आर्सनलबाट इटाली आएका आरोन राम्से भने टोलीमा छैनन् ।

यस खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक सार्रीले इन्टरनेशनल च्याम्पियन्स कपअन्चर्गत रोनाल्डोलाई लिएर आफूले योजनाको बारेमा बताएका छन् । उनले भनेका छन्, ‘म रोनाल्डोलाई लेफ्ट अट्याकमा पहिलोपटक राख्न जाँदैछु । तर, वास्तवमै रोनाल्डो एक क्षमता भएका खेलाडी हुन् । उनी जहाँबाट पनि खेल्न सक्छन् ।’

पोर्चुगलका स्टार रोनाल्डोले आफूलाई विश्वकै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरेको सार्रीको भनाइ छ । उनले रोनाल्डो एक गोल गर्ने क्षमता भएका खेलाडी भएको उल्लेख गर्दै भने, ‘उनी अद्भूत क्षमता भएका खेलाडी हुन् । स्कोर गर्न सिपालु उनीसँग सबैकुरा जितेको अनुभव धेरै छ । व्यक्तिगत रूपमा र क्लबमा उनले धेरै उपाधि बटुलेका छन् ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।