साउन ३- वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई उद्धार गरी नेपाल ल्याई आफन्तको जिम्मा लगाइएको छ ।

ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने विभिन्न पत्रपत्रिका र सामाजिक सञ्‍जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको र केन्याको मुम्बासा शहरस्थित रंगीला डान्सबारमा केन्या प्रहरीले छापा हान्दा मालिकलगायत महिलाहरुलाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइ प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई शुक्रबार जिम्मा लगाइएको हो ।

यस सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।