हेटौंडा २ साउन, हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७५/७६ मा झण्डै लक्ष्य भन्दा दोब्बर राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा उपमहानगरपालिकाले १८ करोड ४५ लाख ५५ हजार लक्ष्य राखे पनि ३४ करोड भन्दा बढी आन्तरिक राजश्व संकलन गरेको हो ।

सबै भन्दा बढी ढुङगा गिटी बालुवा बिक्रिबाट ८ करोड ६१ लाख ४८ हजार संकलन गरेको छ । ढुङगा गिटी बलुवा संकलन तथा बिक्रि शुल्क बापत एक करोड संकलन गर्ने लक्ष्य रहेकोमा ढुङगा गिटी बलुवा संकलनबाट मात्रै दुइ करोड ५६ लाख ३६ हजार राजश्व प्राप्त गरेको उपमहानगरापालिकाले जनाएको छ । यस्तै सवारी साधन कर र दर्ताबाट तिन करोड ८७ लाख, एकिकृत सम्पति करबाट चार करोड १६ लाख रुपैया संकलन गरेको छ । नगरमा घरबाहल कर बाट एक करोड ७५ लाख ६२ हजार संकलन भएको छ । नगर क्षेत्रमा रहेका सिमेन्ट उद्योगबाट निकासी शुल्क बापत २ करोड ७२ लाख रुपैया संकलन गरेको राजश्व शाखा प्रमुख गंगा कुमारी चौलागाइले बताईन् ।

यस्तै आन्तरीक राजश्व कार्यालय हेटौडाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा ७ प्रतिशत बढी राजश्व संकलन गरेको छ । ३ अर्ब ९८ करोड ७७ लाख संकलन गर्ने बार्षीक लक्ष्य राखेकोमा ४ अर्ब २८ करोड ५२ लाख रकम संकलन गर्न सफल भएको हो । आर्थिक बर्ष ०७४/०७५ को कुल राजश्व भन्दा ४६ प्रतिशतले कर बृद्धी भएको आन्तरीक राजश्व कार्यालय हेटौडाका प्रमुख सन्त बहादुर ढकालले बताए । यसबर्ष सबैभन्दा बढी अन्तशुल्क २ अर्ब ४१ करोड २८ लाख रुपैयाँ संकलन भएको छ । १ सय १२ प्रतिशत मुल्य अभिवृद्धि कर अर्थात ७१ करोड ८४ हजार रुपैयाँ संकलन भएको छ ।

संसोधित आर्थिक ऐन अनुसार करको दायरा बढेसँगै यसबर्ष मकवानपुरमा गतबर्ष भन्दा बढी मुल्य अभिवृद्धि कर भ्याट सहित कुल राजश्व संकलनमा वृद्धि भएको हो । कार्यालयले यसबर्ष ४ करोड भन्दा बढी मुल्य अभिवृद्धि करको बक्यौता असुली गरेको छ भने यसैबर्ष ४ सय ३७ नया व्यवसायीहरुलाई भ्याटमा दर्ता समेत गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।