तस्वीर : रासस

साउन १- सरकारले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भीसीटीएस’ को सुरु गरेको छ । तर सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ‘भिसीटिएस’ को शुभारम्भ गरेको भन्दै उद्योगीरव्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारले सामान्य जानकारी र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी, व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसीटिएस प्रणालीको शुभारम्भ गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजना गरिएको सो सेवा शुभारम्भ कार्यक्रममा सहभागी हुनु भएका नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय ढुवानीकर्ताहरुलाई मारमा पार्नेगरी सो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले अर्थमन्त्री डा। युवराज खतिवडालाई सो सेवा ३ महिनासम्म परीक्षण कालको रुपमा संचालन गर्न पनि माग गर्नु भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानुनबमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा दर्ता गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको बुधबारबाट शुभारम्भ गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार एक कार्यक्रमका बीच त्यस प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले देशमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले त्यो प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पार्नुभयो । उहाँले त्यस प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाइ हल गरेर जान सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

राजस्व अनुसन्धान विभागको वेबसाइट  www.dri.gov.np मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने बस्तु र साधानको संक्षिप्त विवरण त्यो प्रणालीमा दर्ता गराउने व्यवस्था गरिएको छ । यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यो व्यवस्था लागु भएसँगै सरकारले मालबहाक सामान चेकका लागि सञ्चालन गरिएको सबै पोष्टहरु हटाउनेछ । यो प्रणालीबाट बस्तुको ढुवानी व्यवस्था अति सहज हुने पनि राजस्व अनुसन्धान विभागको दाबी छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।