क्रिकेट विश्वकपबाट भारत बाहिरिएको पीडा कोलकाताका एक प्रशंसकले सहन सकेनन् र उनको मृत्यु भयो । विश्वकपको सेमीफाइनलमा चेज गरिरहेको भारतीय टीमले रविन्द्र जडेजा र एमएस धोनीको शानदार साझेदारीले भारतको जीतको आशा जगाएको थियो ।  तर जडेजा अनि लगत्तै धोनी आउट भएपछि चाहिँ भारतीय टीमका प्रशंसकहरू उदासीको लहरमा डुब्न पुगे ।

रोमाञ्चक भिडन्त चरममा पुग्दै गर्दा साइकलपसले श्रीकान्त मैती आफ्नो पसलमा बसेर मोबाइलमा खेल हेरिरहेका थिए । अन्तिम ११ बलमा भारतले २५ रन बनाउनुपर्ने थियो । ४९ औं ओभरको दोस्रो बलमा कुनै रन बनेन । तेस्रो बलमा धोनीले एक रन तीव्रताका साथ दौडिए र दोस्रो रन लिन कुदे । तर मार्टिन गप्टिलको सीधा थ्रोले धोनीको विकेट उडाइदियो र उनी सानो मार्जिनले रनआउट भए । गप्टिलको यही थ्रोले टीम इन्डियाको आशामा तुषारापात गरिदियो । पसले श्रीकान्तले पनि यो पीडा सहन सकेनन् र धोनी आउट भएको केही समयपछि नै उनको मृत्यु भयो ।

श्रीकान्तकै पसलनजिक मिठाइपसल चलाउने सचिन घोष भन्छन्, ‘चर्को आवाज सुनेपछि हामीहरू उनको पसल पुग्यौं । उनी बेहोश भएर भुइँमा लडिरहेका थिए । हामीले उनलाई नजिकैको खानकुल अस्पताल लग्यौं अनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।’ म्यानचेस्टरमा खेलिएको उक्त खेलमा न्युजील्यान्डले भारतलाई १८ रनले हरायो । फाइनल असार २९ गते लर्ड्समा खेलिनेछ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।