असार २६- कम्तीमा तीन इरानी डुंगाले बुधवार खाडीमा एक बेलायती तेल ट्यांकर रोक्ने कोशिश गरेपछि जलमार्गमा तनाव बढेको छ ।होर्मुजको जलडमरु हुँदै बेलायती जहाज ब्रिटिश हेरिटेज गइरहेको बेलामा यो घटना भएको हो । इरान र अमेरिकाबीचको सम्बन्ध निकै तनावग्रस्त भएका बेलामा भइरहेका अनेकौं घटनाक्रममा यो पछिल्लो घटना हो । बेलायतले

अघिल्लो साता इरानको एक तेल ट्यांकर कब्जा गरेको थियो र तेहरानले त्यसका बदला लिने भनेको थियो ।

‘अन्तर्राष्ट्रिय कानूनविपरीत तीनवटा इरानी जहाजले ब्रिटिश हेरिटेज नामक व्यापारिक जहाज होर्मुजको जलडमरु हुँदै जाँदा बाटो रोकेका थिए,’ बेलायतको रक्षा मन्त्रालयले बिहीवार बिहान एक वक्तव्य जारी गरेर भन्यो ।

बेलायती युद्धपोत एजएमएस मोन्ट्रोज ‘इरानी डुंगा र ब्रिटिश हेरिटेजको बीचमा बस्न बाध्य भएको थियो र उसले इरानी डुंगाहरूलाई चेतावनी दियो अनि तिनीहरू अन्त लागे,’ वक्तव्यमा भनिएको छ ।

‘हामीहरू यो कार्यबाट चिन्तित भएका छौं र यस क्षेत्रमा तनाव नचर्काउन इरानी अधिकारीहरूलाई आग्रह गर्छौं ।’

इरानले यी दाबीलाई खारेज गरेको छ । परराष्ट्रमन्त्री जवाद जरिफले बेलायती आरोपहरू बेकामे भएको फार्स समाचार संस्थालाई बताए ।

‘बेलायती ट्यांकर जान पायो । बेलायतीहरूले गरेको दाबी तनाव बढाउनका लागि गरिएका हुन् र यी दाबीको कुनै मूल्य छैन,’ जरिफले भने ।

इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले पनि एक वक्तव्य जारी गरेर घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ ।

द गार्डियनबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।