यौन सम्पर्कको समयमा कतिपय पुरुष स्खलनसम्बन्धी समस्याले हैरान हुन्छन् । दीर्घ पतन होस् या शीघ्र पतन दुवैले नै यौन जीवनमा असर पुर्याउन सक्छन् । यो समस्याका कारण भावनात्मक सम्बन्धमा पनि ठूलो फाटो ल्याउन सक्छ । किनकि, यसले पुरुषहरुमा तनाव बढाउँछ भने महिलामा पनि पुरुषप्रति विश्वासमा कमी आउन सक्छ जसले दुईबीचको सम्बन्धमा नराम्रो असर पर्न सक्छ । त्यसैले स्खलनसम्बन्धी समस्या झेल्नुपरेको छ भने यसबाट छुटकारा पाई आनन्दित यौन जीवन बिताउन यी उपाय अपनाउन सकिन्छ

कारणको खोजी

स्खलनमा समस्या आउनुका विभिन्न कारण हुन सक्छन् । मानिसको जीवनशैली, तनाव, स्वास्थ्य समस्या, तत्कालीन अवस्था आदि विभिन्न यसका कारण हुन सक्छन् । त्यसैले सबैभन्दा पहिला समस्याको कारण खोजी गर्नुपर्छ ।

जीवनशैली

अस्वस्थकर खाना, निद्रा पूरा नहुनु, व्यायामको कमी, धूमपान, मद्यपान आदि जस्ता जीवनशैलीसँग सम्बन्धित बानीले यौन उत्तेजनालाई घटाउन सक्छ । त्यसैले आफ्नो जीवनशैलीलाई स्वस्थकर राख्नु अत्यन्त जरुरी छ । स्वस्थकर खाना, पर्याप्त निद्रा, उचित व्यायामले ताजा र तन्दुरुस्त भएको महसूस गर्न सकिन्छ भने यसले यौन उत्तेजना बढाउन पनि मद्दत गर्दछ ।

तनाव

काम, पढाइ, घरव्यवहार आदि विभिन्न कारणले दिमागमा तनाव बढेको छ भने पनि यौन उत्तेजनामा कमी आउन सक्छ । यस्तोमा स्खलनसम्बन्धी समस्या देखा पर्न सक्छ । त्यसैले तनावलाई कम गर्न समयसमयमा घुम्न जाने, साइकलिङ, हाइकिङ, योगा आदिको सहायता लिन सकिन्छ । जसले शरीर र मस्तिष्कलाई ताजा राखी तनाव हटाउनुका साथै यौनजन्य गतिविधिमा पनि सक्रिय हुन सकिन्छ ।

तत्कालीन वातावरण

स्खलनसम्बन्धी समस्या आउनुमा तत्कालीन वातावरण पनि हुन सक्छ । बेडरुमको सेटिङ, पार्टनरको कुनै बानी, कोठाको तापक्रम जस्ता कारणले असहज महसूस भई स्खलनमा समस्या देखिन सक्छ । त्यसैले यौन सम्पर्कका लागि उचित वातावरण निर्माण गर्नु पनि त्यतिकै जरुरी छ ।

दुईबीचको सम्बन्धमा समस्या

आफ्नो संगिनी अथवा सेक्स पार्टनर र आफूबीचको सम्बन्धमा समस्या छ भने चाहेर पनि खुलेर यौनको आनन्द लिन सकिँदैन र संगिनीलाई पनि उत्तेजनामा ल्याउन सकिँदैन । यस्तो अवस्थामा वार्तालापबाट सम्बन्ध प्रगाढ बनाई सम्पर्कका लागि अघि बढ्नु नै उचित हुन्छ । सम्बन्ध राम्रो भएमा नै यौनमा पनि रुचि जाग्न सक्छ ।

स्वास्थ्यसम्बन्धी समस्या

कुनै पनि शारीरिक समस्याको असर स्खलनमा देखा पर्न सक्छ । यौन सम्पर्कको लागि शरीर स्वस्थ हुनु जरुरी छ । त्यसैले सर्वप्रथम आफ्नो स्वास्थ्य पूर्णतया स्वस्थ राखी सम्पर्कको लागि अघि बढेमा नतिजा पनि राम्रो आउन सक्छ । त्यस्तै, यौनसम्बन्धी अन्य कुनै पनि समस्या देखा परेमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

नवभारत टाइम्सबाट भावानुवाद


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।