राजन मैनाली हेटौंडा २५ बैशाख,पछिल्लो समय निकै पेचिलो बनेको विषय , हुप्रचौर । शान्त, सुन्दर र निकै लामो ईतिहास बोकेको , विभिन्न राजजैनिक परिवर्तनको साक्षी बनेर बसेको हेटौडाको मुटुको एउटा खुला चौर खिचातानीमा परेको छ । हुप्रचौरमा प्याराफिट र ब्यवसायीक सटर निर्माणको विषयमा हेटौँडा उपमहानगरपालिकाले चालेको कदमको जनस्तरमा ब्यापक जनगुनासो र बिमति रहदाँ रहँदै उपमहानगरपालिकाले यस विषयमा प्रक्रिया अगाढी बढाउनु जुँगाको लडाईको विषय बनेको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा भएको दोश्रो शहिद स्मृति गोल्डकप फुटबल उद्घाटन कार्यक्रममा हुप्रचौरको विषय उठान गरेपछि हेटौँडा उपमहानगरपालिका यो विषयमा अग्रसर भएको छ ।

मुख्यमन्त्रीले नै योजना अघि सारिसकेपछि हौसिएको उपमहानगरपालिकाले योजना सार्थक बनाउन अहोरात्र लागिपर्दा एक पटक पनि स्थानीयको जनगुनासो सुन्ने फुर्सद र चाहाना राखेन । प्रत्यक्ष जननिर्वाचित सरकारले जनताको आवाज कमसेकम एकपटक सुन्नै पर्ने हो, तर त्यो अभ्यास नहुदाँ हुप्रचौरका स्थानीयवासी र सरोकारवाला यतिबेला उपमहानगरको कदमको विरोधमा छन् जस्को प्रतिक्रिया स्वरुप हुप्रचौरमा उपमहानगर विरुद्ध कालो झण्डा गाडियो । विकास के हो भन्ने विषयमा अहिले सर्वत्र भ्रम छ । चिल्लो सडक, गगनचुम्बी भवन , सुविधासम्पन्न होटल , महंगा गाडीहरुलाई मात्रै विकासको मापक सोच्ने जनप्रतिनिधिहरुको बुझाईले पटकपटक समस्या आउने गरेको छ । यसको पछिल्लो शिकार बनेको छ हुप्रचौर ।

विकास र समृद्धी भनेको नयाँ निर्माणसँगै भएका सम्पत्तीको संरक्षण पनि हो भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । हुप्रचौर , एउटा खेल मैदानको रुपमा मात्रै बुझाई हुुनु हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतको कमजोरी हो । प्रदेश नम्बर ३ को राजधानी समेत बन्ने तरखरमा रहेको हेटौँको मुटुमा रहेको हुप्रचौर कत्तिको आवश्यकता छ भन्ने उदाहरण पछिल्लो पटकको महाभुकम्पले स्पष्ट पारेको छ । हेटौँडाको आवादी दिनानुदिन बढीरहदाँ यस्ता चौरहरुको संरक्षण तथा अतिक्रमण भएमा रोक्नुपर्ने दायित्व हुन्छ । यदि हुप्रचौरमा प्याराफिट र सटर बनेको खण्डमा यो साँगुरिने निश्चित छ । यसको दिर्घकालिन सोच राख्न जरुरी छ ।

केहि निहित ब्यक्तिको उक्साहट र स्वार्थमा दिर्घकालिन महत्व राख्ने विषयमा निर्णय लिदाँ उपमहागरपालिकाले स्थानीयवासी तथा विज्ञहरुसँग छलफल गर्न जरुरी थियो तर त्यसो हुन सकेन । त्यसको प्रभाव भोलिबाटै देखिन थाल्छ भने भविष्यको सन्तती प्रत्यक्ष मारमा पर्छन् । आयश्रोतको लागि सटर हाल्न उपमहानगरपालिकाले अन्य खाली जग्गाहरुमा योजना बनाउन सक्छ । खेल क्षेत्रको विकासको लागि हेटौडाको गौरिटारमा निर्माणाधिन रंगाशालाको विषयमा सहकार्य गर्न सक्छ भने अन्य खेल मैदानको तयारी गर्न सकिन्छ ।

हुप्रचौर सँगै रहेको वासुदेव सभागृहको मर्मत सम्भार नहुदाँको त्यो दुर्गती रहदाँ त्यसलाई ब्यवस्थापन गर्न उपमहानगर असफल छ । करोडौँको लगानी त्यत्तिकै खेर जादाँ त्यसलाई प्रयोगमा ल्याउन मिल्ने सभाहल बनाउन सके ति सटरहरुमा उपमहानगरले देखेको आम्दानी भन्दा दोब्बर हुन आउछँ , एक त अहिलको खाँचो भनेको हेटौँडामा एउटा ब्यवस्थित हल नै हो । हेटौँडा उपमहानगरपालिकाले सो हललाई ब्यवस्थापन गर्न सके मेयर महतको कार्यकालको महत्वपुर्ण उपलब्धी हुने छ , जुन पछिल्ला पुस्ताहरुको पनि महत धन्यवादको पात्र रहिरहनुहुनेछ । आधुनिक युगमा विकासलाई नर्कान सकिदैन तर विकासको नाममा प्राकृतिक संरचना र यस्ता चौरहरुको विनाश हुन हुदैँन ।

सुन्दर शरीरमा केहि रमाईलोको लागि देखावटी र हुटहुटीमा अहिलेका युवायुवतीहरु ट्याटु खोप्ने गर्दछन् तर यसले क्यान्सर जस्ता जघन्य रोग निम्त्याउछ भन्ने कुरा उनिहरुले त्यो बेला होस मा राख्दैनन् र पछि पछुताउने गर्दछन् । त्यस्तै हो अहिलेको समयमा आएको हुप्रचौरको विषय , केहि हुटहुटी र व्यवसायीक स्वार्थ तथा केहि राजनितिक आग्रह पुर्वाग्रहले हुप्रचौर जस्तो सुन्दर चौरमा प्याराफिट र सटर जस्ता ट्याटु नखोपौँ , यसले हुप्रचौरमा क्यान्सर निम्त्याउछँ यसको औचित्य समाप्त हुन्छ ।

हुप्रचौर एकादेशको कथा नबन्ला भन्न सकिदैँन । बेलैमा यसको संरक्षण र सम्र्वद्धनमा ध्यान दिउँ । हुप्रचौर मन शान्त गराउने , दिक्क लाग्दा टहलाउन सकिने , साँझ बिहान नसा तन्काउन र हिडडुल गर्न सकिने , बालबालिकादेखि वृद्धवृृद्धासम्मको लागि मन बहलाउने , खुसी हुदाँ जम्मा भई हास्न सकिने , दुखी हुदाँ आसुँ बगाउन सकिने , विपद्मा सबैको साझा छानो बनाउन मिल्ने ठाँउ बनाउँ , यसमाथिको हस्पक्षेप कसैले नस्वीकारौँ । हुप्रचौरलाई खुला छोडौँ , अन्यत्र विकास गरौँ ।

[ लेखक : राजन मैनाली मानव अधिकारकर्मी ,समाजसेवी तथा नागरिक अगुवा हुन् । ]


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।