दाङ, ७ बैशाख ।  खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ । पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, ‘पानी पनि खान पाइएन ।’

तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए । कतै भेटेनन् । गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए ।

प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरू फरक–फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरू एउटै थालमा दिल खोलेर खाँदै थिए । ‘दौडिने खेलाडीले यसरी जथाभावी खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरू ? गुरुहरूले त जथाभावी नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयो ।’

उनीहरू जस्तै थुप्रै खेलाडी चिया, खाजा खोज्न भौंतारिइरहेका थिए । प्रतियोगितामा अलिकति अनुभव बोकेका खेलाडीले भने आफ्नो व्यवस्थापन आफैंले गरिरहेका छन् । उनीहरूले हल्का किसिमका डाइट केरा, स्याउजस्ता फलफूल आफैंले लगेर खाएका पनि छन् । धेरैको हकमा त्यस्तो छैन । पदाधिकारी र खेलाडीले पानीसमेत खान नपाइएको बताइरहेका थिए ।यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।